गृहपृष्ठ शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

नेकपा (एमाले)का सांसद् डा. भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसद्‌मा समेत आवाज उठिरहेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद् रावलले धर्म परिवर्नत गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् । पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे,‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरे । ‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्ने छ, कसैले धर्म परिवर्तन गर्न पाइनेछैन  भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जबाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?’ रावलले प्रश्न गरे ।

उनले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्नसमेत गरे । ‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईंलाई जानकारी छ,’ उनले भने,‘के उत्कृष्ट हुन लागेको हो ?’

सरकारले बजेटमार्फत त्रिविको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर, नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपति सहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु