हट्याे संसदकाे अवरोध
वि.सं.२०७९ जेठ ३ मंगलवार २३:१०
shares
संघीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।
बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका थिए । उनले सम्बोधन गर्दै सदनमा आफ्नो पार्टीले लगातार विरोध गर्नुको कारणबारे बताए । उनले मुलुक स्थानीय तहको निर्वाचनपछि नयाँ कोर्षमा गएकाले एमालेले संसद् गर्दै आएको विरोधलाई आजदेखि नयाँ स्वरुपमा परिवर्तन गरेको जानकारी गराए । एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो ।
उनले आफ्ना सांसदलाई कारबाही गरिएको सम्बन्धित मुद्दाको फैसला गर्न अदालतले गरेको ढिलाइप्रतिसमेत असन्तुष्टि जनाए । उक्त विषयमा आफ्नो अडान यथावत रहेको उनको भनाइ थियो । उनले मुलुकको वर्तमान आर्थिक संकटका बारेमा आफ्नो पार्टी निकै चिन्तित रहेको बताउँदै उनले सबै मिलेर समाधानमा पहल गर्न सरकारलाई आग्रह गरे । त्यसका लागि नयाँ ढंगकाे बहस र सोचको आवश्यकता रहेको उल्लेख गर्दै उनले एमालेले त्यसबारेमा संसदमा आवाज उठाउने बताए ।
स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै सांसद ज्ञवालीले सुरक्षा निकाय र कर्मचारीतर्फबाट आफूलाई सहयोग नभएको टिप्पणी गरे । निर्वाचनमा आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी पारिएको बताउँदै उनले सत्ताको दुरुपयोग भएको आरोपसमेत लगाए ।
यसैगरी सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाएका थिए ।
























