nmb bank

गृहपृष्ठ निर्वाचन सकेकाे भाेलिपल्टै यार्सागुम्बा टिप्न खर्कतिर

निर्वाचन सकेकाे भाेलिपल्टै यार्सागुम्बा टिप्न खर्कतिर

निर्वाचन सकेकाे भाेलिपल्टै यार्सागुम्बा टिप्न खर्कतिर फाइल तस्बिर ।

स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुटी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरु आजदेखि नै यार्सागुम्बा संकलनमा आफूलाई व्यस्त बनाएका छन् । मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरुको मुख्य आयस्रोत औषधिजन्य जडिबुटी यार्सागुम्बा नै हो । उनीहरु जडिबुटी संकलनका लागि नार, फु, नाम्के खर्क, खाङ्सार खर्क पुगिसकेका हुन् । 'स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ,' चामे गाउँपालिका-४ जगबहादुर गुरुङले भने । उनले मनाङको विकासको लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदान कार्य सकेर पुन: खर्कतर्फ फर्किएको बताए ।

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताए । 'समयमा नै यार्सागुम्बा संकलन गर्न सकिएन भने पछि हराउँछ, त्यही भएर आजभोलि खर्कतर्फ छिटो फर्किन लागेका छौँ,' उनले भने । स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले गत वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलन कार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ-आफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुन: यार्सागुम्बा संकलनका लागि उनीहरु खर्कतर्फ मतदान सकिएको भोलिपल्टै खर्क उक्लिएको स्थानीय बताउँछन् ।

विशेषगरी यो मौसम यार्सागुम्बा संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रुपमा लिइन्छ । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो ।

यार्सागुम्बा संकलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा संकलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ ।

यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए । यार्सागुम्बा संकलन कार्य नाम्केखर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् ।

यार्सागुम्बा संकलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताए । उनका अनुसार यार्सागुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरुले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एक वटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरु र खरिद गर्न आउने व्यक्तिहरुले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनु पर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद विक्री गर्न नसक्दा जिल्लाको राजश्व पनि घटेको जनाइएको छ । यस वर्ष भने सहज रुपमा जडीबुटी संकलन हुने भएकाले राजश्व वृद्धि हुने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु