गृहपृष्ठ प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग चुनावलक्षित छलफल
प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग चुनावलक्षित छलफल

स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारिदै लगिएको छ । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दैं नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सबै सुरक्षा निकायका प्रमुखसँग सैनिक मुख्यालय जंगी अड्डामा छलफल गरेका छन् ।
उनले आइतबार स्थानीय तहको निर्वाचन सम्बन्धमा सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल लगायतको उपस्थिति रहेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक उच्च अधिकृतहरू समेत सहभागी छलफलमा सेनाका तर्फबाट निर्वाचनका सन्दर्भमा भएका तयारी र भविष्यमा हुनु पर्ने सहकार्यबारे प्रस्तुतीकरण दिइएको थियो ।
छलफलमा सबै सुरक्षा निकायका प्रमुखले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्राप्त जिम्मेवारीलाई आपसी समन्वय र सहकार्यबाट काम गर्ने निष्कर्ष निकालेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित समय : २३:०५ बजे