गृहपृष्ठ झापाली समाज युएसएको पहलमा ७० जना विद्यार्थीलाई छात्रवृत्ति
झापाली समाज युएसएको पहलमा ७० जना विद्यार्थीलाई छात्रवृत्ति

अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएले सामुदायिक विद्यालयमा छात्रवृत्ति दिने भएको छ । समाजकाे अगुवाइमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको हाे ।
शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति घोषणा हो । सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई सो छात्रवृत्ति दिइने छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीको उपस्थितिमा जिल्लाका ७० जना विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीसमेत उपस्थित थिए ।
झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो । कोषमा हालसम्म संस्थागत रुपमा १८ जनाले रकम प्रदान गरेका छन् । अमेरिकामा बस्ने मेघराज नेपाल, इजरायलमा बस्ने दिपक ओली र झापा विकास मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले दुई लाख ५० हजारका दरले रकम प्रदान गरेका छन् ।
झापाली समाज युएसएले ८ हजार ८०० अमेरिकी डलर कोषमा प्रदान गरेको छ भने अध्यक्ष यमुना भट्टराईसहित संस्थापक अध्यक्ष मुकुन्द ढुंगाना लगायतले २ हजार २०० डलरका दरले रकम जम्मा गरेका छन् । अमेरिकामा रहेका २३ जना झापालीले वार्षिक छात्रवृत्तिस्वरुप २०० डलरका दरले समाजलाई रकम हस्तान्तरण गरेका छन् । झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् ।
सोही कार्यक्रममा झापाली समाज युएसएले नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोदलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा संकलित रकमबाट एम्बुलेन्स खरिद गरिएकाे हाे ।
प्रकाशित समय : २२:४९ बजे