गृहपृष्ठ एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुने
एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुने
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्यअन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो। महोत्सवको सह-प्रायोजकमा गोरखा व्रुअरी छ ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुयार्उने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिने छ ।
यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने छ । वैशाख ३ गते विहान १०ः०० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गरिेनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशा समेत उनले बताए ।
थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा कसरी सकारात्मक उर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाले स्पष्ट पारेका छन् । महोत्सवका लागि महासंघसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको बताए ।
‘अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ,’ उनले भने ।
प्रकाशित समय : १७:५३ बजे



















