काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साहित्य चौतारीको सडक देउसी : दुई दशकदेखि साहित्य र संस्कृतिको संरक्षणमा निरन्तरता

1.89K
shares

झापा । शुभ दीपावलीको सांस्कृतिक रौनकसँगै साहित्य, संगीत र सिर्जनालाई सडकमा जोड्दै आएको साहित्य चौतारी झापाले यस वर्ष पनि परम्परागत दक्षिणा रहित सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।

साहित्य चौतारी झापाले वरिष्ठ संगीतकार डा. टीका भण्डारीको विशेष आतिथ्यतामा बिर्तामोडमा सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको हो । साहित्य र संगीत क्षेत्रका सर्जक, साहित्यकार तथा गायकहरूको सहभागितामा आयोजित कार्यक्रमले तिहारको सांस्कृतिक उत्सवसँगै नेपाली मौलिक कला र परम्पराको संरक्षणमा जोड दिएको थियो ।

साहित्य चौतारीले बिर्तामोडको मुक्तिचोकबाट सुरु गरेको देउसी–भैलो टोलीले बीएण्डसी मेडिकल कलेज हुँदै एसियन हाइवेको इलाका प्रहरी कार्यालय आसपासका क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा सहभागी साहित्यकार तथा कलाकारले देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृति, साहित्य र संगीतको महत्व उजागर गरेका थिए ।

साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठको अगुवाइमा विगत दुई दशकदेखि निरन्तर सडक देउसी–भैलो कार्यक्रम आयोजना हुँदै आएको छ । परम्परागत देउसी–भैलोलाई केवल मनोरञ्जनमा सीमित नराखी साहित्य, संगीत र सामाजिक सद्भावसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निरन्तरता पाउँदै आएको हो ।

साहित्य चौतारीले साहित्यिक तथा सांगीतिक सिर्जनाको प्रवद्र्धन, सर्जकबीच आपसी सम्बन्ध विस्तार र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणलाई आफ्नो गतिविधिको महत्वपूर्ण पक्ष बनाउँदै आएको छ । साहित्यकार, गीतकार, संगीतकार तथा गायकहरूलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई समेत साहित्य र सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी तिहारका अवसरमा आयोजना गरिने सडक देउसी–भैलो साहित्य चौतारीको पहिचानसँग जोडिएको सांस्कृतिक अभियानका रूपमा स्थापित हुँदै गएको छ । दुई दशकसम्म निरन्तरता पाउनु यस अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यमको प्रभाव बढ्दै जाँदा परम्परागत सांस्कृतिक अभ्यास ओझेलमा पर्न थालेको अवस्थामा साहित्य चौतारीको यस्तो प्रयासले मौलिक संस्कृति र पुस्तान्तरणको महत्वलाई समेत स्मरण गराएको छ ।

साहित्य र संगीतलाई समाजसँग जोड्दै सडकबाटै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने साहित्य चौतारीको यो अभियानले स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिमा छुट्टै पहिचान बनाएको छ ।