गृहपृष्ठ महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरे ।
सहमतिअनुसार महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदान-प्रदानमा सहयोग हुनेछ । महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रिय रुपमा आफ्नाे माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी सडक प्रदर्शनका अतिरिक्त महत्वपूर्ण गतिविधि गर्नेछ ।
त्यसैगरी लगानी प्रवर्द्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुभव एवं सूचनाको आदान-प्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै प्रत्यक्ष वैदेशिक लगानी एवं अन्य लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालिमको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग गर्नेछ ।
महासंघले लगानी प्रवर्द्धनका लागि तयार पार्ने दस्तावेजमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका अन्य प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवी लगायतमा सहयोग तथा सहकार्य आदान प्रदान गर्नेछन् । महासंघले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछ ।
सो अवसरमा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनका लागि बोर्ड तथा महासंघबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफालाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने उल्लेख गर्दै उनले सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको तथा लगानीका लागि आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुझाव दिए । लगानीका लागि गरिएको प्रतिवद्धताअनुरुप लगानी आउन नसक्नुका पछाडि मिहीन ढंगले अध्ययन गरी प्रतिवद्धताअनुरुपको अधिकतम लगानी भित्र्याउन सरकार लागेको पनि उनले बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक सुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने र महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे । दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनका माध्यमबाट आम नेपालीको मुहार खुशी बनाउनु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा उनले विश्वास दिलाए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसँग लगानी प्रवर्द्धनमा सहकार्य गर्ने ढोका खुलेको बताए । कार्यक्रममा बाेर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले बोर्ड तथा महासंघबीचको समझदारीबाट मुलुकभित्र लगानी प्रवर्द्धनका लागि एउटा नयाँ अध्यायको सुरुवात भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित समय : २१:०८ बजे



















