गृहपृष्ठ ‘माओवादी एक्लै चुनाव जान सक्दैन भन्ने भ्रम कांग्रेसले नपाल्दा हुन्छ’
‘माओवादी एक्लै चुनाव जान सक्दैन भन्ने भ्रम कांग्रेसले नपाल्दा हुन्छ’
स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । को पहिलो हुने ? दलहरुमा प्रतिस्पर्धा छ । सक्नेहरु आफ्नै बलबुतामा चुनावमा होमिने साहस देखाइरहेका छन् । आफैँप्रति आशंका भएकाहरु तालमेलमार्फत निर्वाचनमा होमिन खोजिरहेका छन् । र, यतिबेला तालमेल गर्न अधिकाशं दलहरुका लागि अपरिहार्यजस्तै छ । किनकि एक्लै चुनाव लड्दा बहुमत ल्याउन सक्ने हैसियत कसैले बनाएका छैनन् । कम्युनिष्टहरु विभाजित छन् भने नेपाली कांग्रेस आन्तरिक मतेभदमै अलमलिएको छ । आगामी निर्वाचनका लागि मूलतः सत्ता गठबन्धनबीच नै चुनावी तालमेल हुने सम्भावना छ । तर सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले आफ्ना साझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई हैसियतविहीनकै रुपमा व्यवहार देखाइरहेको छ । एक्लै गए आफूले मात्रै चुनाव जित्न सक्ने कांग्रेसको 'अहंकार' छ । यसले माओवादी सहितका दलहरु चिढिएका छन् । कांग्रेससँगै तालमेल होला त ? कांग्रेससँग नभए कोसँग तालमेल ? नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतसँग न्युजकारोबार डटकमका लागि सन्तोष विके थापाले गरेको कुराकानी :
गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै माओवादी सहितका अन्य दलसँग चुनावी तालमेल हुँदैन भनिरहनु भएको छ । तपाईँहरु चाहिँ तालमेल नभई हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । कांग्रेस नेताको बोली सुनिसकेपछि पनि अझै तालमेल हुने आशा गर्नुहुन्छ ?
म यस सन्दर्भमा दुईवटा कुरा स्पष्टसँग राख्न चाहन्छु । पहिलो कुरा, गठबन्धन मुलुकको आवश्यकताको सन्दर्भमा बनेको हो । र त्यो आवश्यकता अहिले पनि यथावस्थामै छ । गठबन्धनमा प्रतिकुल असर नपरोस् भन्नेमा माओवादी जिम्मेवार छ । दोस्रो कुरा, चुनावी तालमेलको हो । आगामी निर्वाचनमा माओवादीलाई कसैको वैशाखी टेकेर जानुपर्ने आवश्यकता छैन । मुलुक रुपान्तरणको नेतृत्व गरेको, जनक्रान्तिको नेतृत्व गरेकाे पार्टी हुनुको नाताले माओवादी आफ्नै तागत र बलबुतामा निर्वाचन जान सक्षम छ । त्यो आत्मविश्वास, त्यो दृष्टिकोण र हैसियत माओवादीले राख्दछ । आज पनि मुलुक माओवादीकै एजेन्डामा चलिरहेको छ । मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन माओवादी र हाम्रो पार्टीका अध्यक्षले नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । यसर्थ माओवादी एक्दै चुनावमा जान सक्दैन भन्ने भ्रम कांग्रेस वा अन्य दलले नपाले हुन्छ । अहिले देश एउटाको नीति र अर्काको नेतृत्वमा चलिरहेको छ ।
तर तपाईँहरुले जुनको खालको परिस्थितिमा गठबन्धन बनाउनु भएको थियो, त्यसको आवश्यकता आज पनि होला । तपाईँहरुकै सहमतिमा एमसीसीजस्ता विवादित विषय संसदबाट पारित भएका छन् । त्यसमा कांग्रेसलाई माओवादीले साथ पनि दिएको छ । यद्यपि अहिले आएर माओवादी केही होइन, कुनै खाले हैसियत छैन, एक्लै चुनावमा जान सक्दैन । भन्ने खालका जुन अभिव्यक्ति कांग्रेसभित्रबाट आइरहेका छन् । यसले तपाईँहरुबीच सहकार्य कायम रहन्छ त ?
पहिलो कुरा, कांग्रेसको मूल नेतृत्वबाट यो खाले अभिव्यक्ति आएको छैन होला भन्ने मलाई लाग्छ । यी अभिव्यक्ति जिम्मेवारपूर्ण अभिव्यक्ति होइनन् । आज कसैलाई गठबन्धन चाहिएको छ भने त्यो नेपाली कांग्रेसलाई चाहिएको छ । किनकि अहिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । गठबन्धनको सरकार प्रतिकुल नहुने गरी स्थानीय तह बन्यो भने त्यो कांग्रेसकै हितमा हुन्छ ।
अब के हुन्छ त ? कांग्रेससँग तालमेल हुने अवस्था रहेन भने तपाईँहरुको तालमेल एमालेसँग पनि हुनसक्छ ?
होइन होइन । याे बुझाई नै गलत भयो । माओवादी कुनै पार्टीसँग तालमेल नगरी चुनावमा जानै सक्दैन भन्ने बुझाई गलत हो ।
त्यो तरिकाले पनि बुझ्नु पर्ने अवस्था तपाईँहरुकै कारणले उत्पन्न भएकाे हाे । तपाईँको पार्टीका अध्यक्ष प्रचण्डले बिहीबारमात्रै ‘कांग्रेसले लखेट्न खोजे एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न’ भन्नु भएको छ । केही दिन अघिमात्रै बर्षमान पुनले एमालेसँग तालमेलको संकेत गर्नुभयो । यति भइसक्दा पनि हामीले यति बुझ्न मिलेन त ?
माओवादी विचारको श्रेष्ठता, नीतिको श्रेष्ठता र नेतृत्वको श्रेष्ठताका ताकतमा निर्वाचनमा जान्छ । निर्वाचनमा जाने मात्रै होइन, विजयी हासिल गरेर पनि आउँछ । २०६४ सालदेखि अहिलेसम्मका निर्वाचन परिणामलाई हेर्नुभयो भने, एकचोटी पहिलो भएको पार्टी दोस्रोपटक भएको छैन । त्यसकारण अहिले पहिलो, दोस्रो र तेस्रो को हुन्छ भन्ने कुरा निर्वाचनमा गएपछि मात्रै थाहा हुन्छ ।
नेकपा एमालेसँग तालमेल, गठबन्धन वा एकताको सम्भावना छ त ? नेताहरुका अभिव्यक्ति सुन्दा त तपाईँहरु भित्रभित्रै यसका लागि गृहकार्यमा जुटिरहेको जस्तो पनि देखिन्छ । कि कांग्रेस तर्साउनका लागि मात्रै हो ?
नेकपा एमालेले दुई/दुईपटक संसद्को विघटन गर्यो । हामीले त्यसलाई प्रतिगमन भन्यौं । त्यसको समीक्षा एमालेले कसरी गर्छ । एमाले र हामीबीच राजनीतिक बुझाईमा फरकपन देखियो । संविधान रक्षा र लोकतन्त्र रक्षाका लागि यो गठबन्धन बनेको हो भन्ने विषयलाई कांग्रेसले आत्मसाथ गर्छ भने यो गठबन्धनको निरन्तरता होला । होइन यो गठबन्धन प्रधानमन्त्री बन्नका लागि थियो, स्थानीय तहमा केही सिट जित्न वा जिताउनका लागि मात्रै थियो भने त्यो बुझाई सही होइन । कांग्रेसको बुझाईमै एमालेसँगको तालमेल निर्भर रहन्छ ।
पछिल्लोसमय माओवादी केन्द्रका नेताहरुको अभिव्यक्तिलाई हेर्दा एमालेसँगको एकतामा जोड दिएको पाइन्छ । एमालेभित्र पनि केही नेताहरु एकताको पक्षमा छन् । तर नेपालका विभाजित कम्युनिष्टलाई एक बनाउन चीन सक्रिय बनिरहेको चर्चा छ । चीनबाट केही समयमै उच्चस्तरीय भ्रमण हुँदैछ । एमाले र माओवादी तालमेल वा एकतामा यसले कस्तो भूमिका खेल्छ ?
अनुमान धेरै थरिका हुन्छन् । सबै कुरा सही हुन्छन् भन्ने हुँदैन ।
खास कुरा के हो त ?
कुन पार्टी मिल्ने, कुनबीच एकता गर्ने, गठबन्धन कहाँ गर्ने त्यो नेपालका पार्टीले निर्णय गर्ने कुरा हो । त्यो अरु कसैले गरिदिन्छन् र गरिदिनुपर्छ भन्ने आग्रह र अपेक्षा राख्नु सही हुँदैन । जहाँसम्म चिनियाँ भ्रमणको कुरा छ, त्यसले दुईदेशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ला । पार्टीहरुको कुरा त आन्तरिक जीवनका कुराहरु हुन् । पार्टीहरुले नै निर्णय गर्लान् ।
प्रकाशित समय : १८:२२ बजे



















