गृहपृष्ठ ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड’लाई नबिलको सहप्रायोजन
‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड’लाई नबिलको सहप्रायोजन
नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड-२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह-प्रायोजन सम्झौता गरेको छ ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह-प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने छ । सह-प्रायोजक बनेवापत नबिलले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।
सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सह-प्रायोजन गरेकोमा प्रमुख कँडेलप्रति धन्यवाद व्यक्त गरे ।
स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।
प्रकाशित समय : २२:५७ बजे

















