युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता
वि.सं.२०७८ फागुन १० मंगलवार १५:०८
shares

विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भन्दै आएको छ ।
गत राति मस्कोमा त्यस सम्बन्धी घोषणामा हस्ताक्षर गर्दै राष्ट्रपति पुटिनले रुससँग सीमा जोडिएको त्यस क्षेत्रमा ‘शान्ति स्थापना’ गर्न सैनिक परिचालन गरेका छन् । २०१४ देखि नै युक्रेनविरुद्ध लड्दैआएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग दुश्मनी बढिरहँदा नयाँ घोषणा गरेका हुन् ।
रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

























