खेलौना बनाएर जीविकोपार्जन गर्दै अपांगता भएका महिला
वि.सं.२०७८ फागुन ५ बिहीवार २०:४८
shares

सुरुंगा नगरपालिका-२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दैै आएकी छन् । उनले आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छिन् । निरौला बौद्धिक अपांगता अभिभावक संघले आयोजना गरेको दुईहप्ते तालिममा समेत सहभागी भइन् ।
निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिने गर्छिन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताइन् । 'म कसैको बोझ बन्न चाहन्न', निरौलाले भनीन् । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।
निरौला जस्तै अन्य अपांगता भएका महिलाले तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुंगा, बोदे बर्साइन, हनुमाननगर कंकाल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन् । सप्तकोसी नगरपालिका-१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताइन् ।
ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नु परेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ । यसैगरी हनुमाननगर कंकाल्नीण-१२ की संगीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी छन् । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताइन् ।
राजविराज नगरपालिका-८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिनथालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास छ । 'तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ', उनले भनीन्, 'घरमै बसेर आय आर्जनको अवसर पाउने विश्वास छ ।
पहिलो पटक अपांगता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताइन् । तालिममा अपांगता भएका रीका २० जना सहभागी छन् ।

























