काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्डका लागि एमसीसी : निल्नु न ओकल्नु

15.04K
shares

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)का सम्बन्धमा बढेको तनावका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘थाल खाउ कि भात खाउ’को अवस्थामा पुगेका छन् ।

केपी ओली नेतृत्वको सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेका उनी अहिले देउवाले अघि सारेको एमसीसी सम्झौतामा सहमत हुन सकेका छैनन् । गठबन्धन टिकाउन देउवासँग सहमत भएर एमसीसी पास गर्न सघाउनु पर्ने देखिन्छ । तर पास गर्न सघाए विगतदेखि नै लिदै आएको एमसीसीविरोधी अडान बेच्नु पर्नेछ । त्यसबाहेक गठबन्धन भत्किएर ओली-देउवाको समीकरणमा मुलुक अर्ली इलेक्शनमा जाने सम्भावनामाथि पनि विश्लेषण भइरहेका छन् । दुवै सम्भावना प्रचण्डका लागि कठिन मात्रै होइन, ‘निल्नु न ओकल्नु’ नै बनेको छ । किनकि, यो गठबन्धन प्रचण्डकै चाहनाबमोजिम बनेको हो, र यसलाई बाँकी रहेको पूरा कार्यकाल टिकाउनै पर्ने दबाब प्रचण्डमाथि छ ।

एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब देलान् कि भन्ने चिन्तामा माओवादी केन्द्रका नेताहरु छन् । यथास्थितिमा पास गर्न नसक्ने विगत देखिकै अडानलाई कायम राखेर अघि बढ्न प्रचण्डलाई नेता कार्यकर्ताहरुले सुझाइरहेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले प्रचण्ड आफ्नो अडानमै कायम रहनुपर्ने बताए । उनले भने, ‘यसका लागि गठबन्धन नै त्याग्न परे पनि पछि हट्न हुँदैन । देउवाको चाहनाअनुसार नै एमसीसी पास पनि हुँदैन । पहिला गठबन्धनमा आवद्ध दलहरु एकमत हुनुपर्छ । एमसीसीमा दबाब दिए गठबन्धन नरहन पनि सक्छ ।’

तर प्रमुख प्रतिपक्षको भूमिका रहेका एमाले अध्यक्ष ओलीले गठबन्धन नै भत्काएर अघि बढ्न तयार भए एमसीसी पारित गर्न सहयोग गर्ने सन्देश देउवालाई दिएका छन् । जसले पनि प्रचण्डमाथि थप दबाब दिएको छ । देउवा गठबन्धन भत्काएर एमसीसीमा सहयोग माग्न आए त्यसबारे सोच्न सक्ने एमाले नेता राजेन्द्र गौतम बताउँछन् । ‘यो गठबन्धन कुनै पनि हिसाबले औचित्यपूर्ण छैन । सबै मुद्दाबाट विचलित भएको छ । देउवा जी एमालेको सहयोग चाहियो भनेर आउनुहुन्छ भने एमाले कुनै पनि अवसरका लागि पछि हट्दैन् । हामी तयार हुन सक्छौं,’ उनले भने ।

आइतबारको गठबन्धन र सर्वदलीय बैठकमा समेत एमसीसीको कुरा जोडतोडले उठेको थियो । बैठकको सुरुआतमै देउवाले एमसीसीको विषय अघि सारेपछि अन्य दलले असहमति जनाएका थिए । मध्यमार्गी भएर विषयलाई सल्टाउन खोजेका प्रचण्डले देउवासँग सहमतिका साथ अघि बढ्न आग्रह गरे । एमसीसी सम्झौता जतिसक्यो चाँडो अनुमोदनको पक्षमा रहेको अमेरिकाले केही समय पर्खिन सक्ने निर्णय लिएपछि प्रधानमन्त्री देउवा गठबन्धनमा दबाब दिएरै भए पनि यो प्रस्ताव पास गर्ने तयारीमा देखिन्छन् । सम्झौता पास गर्न नेपाल सरकार प्रतिवद्ध भएको भन्दै मंसिर २८ मा सम्पन्न एमसीसी बोर्ड बैठक आशावादी बनेको थियो । त्यसअघि प्रधानमन्त्री देउवाले एमसीसीको मुख्यालयमै पत्र लेखेर सम्झौता अनुमोदनका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए ।

सभामुखको विदेश भ्रमणको मौका पारी सरकारले संसद् बैठक आह्वान गरेको छ । पुस ६ मा बस्ने संसद बैठकमा एमसीसी प्रवेश गराउने चाहना सरकारको देखिन्छ । यति भएर पनि सभामुखले एमसीसी सम्झौता संसदमा टेबुल गराउने/नगराउने टुंगो छैन । सभामुख अग्नि सापकोटाको भूमिका प्रचण्डका लागि अनुकुल हुन सक्छ । तर देउवाले एमालेसँग मिलेर सभामुखलाई पदमुक्त गर्न सक्ने र एमसीसीलाई अघि बढाउने अर्काे विकल्प पनि बाँकी नै छ । किनकि, एमाले सभामुखले राजीनामा दिनुपर्ने भन्दै विगतदेखि नै संसद् अवरोधमा छ । संसदमा रहेको एमाले र कांग्रेसको संख्या पनि एमसीसी पास गर्न सुविधाजनक हुने खालको छ ।

सत्ता साझेदार साना कम्युनिष्ट दलहरुभन्दा शक्तिशाली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सम्झौता पास गर्न प्रधानमन्त्रीका लागि बढी सहज छ । यसका लागि देउवाले गठबन्धन भत्काएर ओलीसँग सहकार्य गर्न तयार हुनुपर्नेछ । यस्तो अवस्था सिर्जना हुँदा एमसीसीमा मात्रै प्रभावित हुने होइन सत्ता समीकरण र आगामी निर्वाचनकाे मिति र नतिजासमेत प्रभावित हुने देखिन्छ ।