सर्वदलीय बैठक आज : संसद्को गतिरोध र एमसीसीबारे छलफल
वि.सं.२०७८ पुस ४ आइतवार १४:०३
shares

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल र राप्रपालाई बोलाइएको छ । तर संसद्मा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वदलीय बैठकमा सहभागी नहुने संकेत गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नकै लागि सर्वदलीय बैठक बोलाइएको हो । स्रोतले भन्यो, ‘एमालेको विरोधका कारण संसद् अघि बढ्न सकेको छैन । त्यही गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ ।,’ गत मंसिर २८ गते संसद् आह्वान गरिएपनि एमालेले निरन्तर रुपमा अवरुद्ध पार्दै आइरहेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । भेटवार्तामा अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा समेत छलफल भएको थियो ।
प्रचण्डले सबै दलहरुको धारणा माग गर्न सर्वदलीय बैठक आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बैठकमा एमसीसीबारे पनि छलफल हुने बुझिएको छ ।

























