माथिल्लो स्यांगे विद्युत उत्पादनको सफल परीक्षण
वि.सं.२०७८ पुस ४ आइतवार १३:४०
shares

माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मर्स्याङदी गाउँपालिका-४ मिप्रामा रहेको आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो ।
आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मंसिर २२ गतेदेखि परीक्षण सुरु गरिएको छ । उनले भने, 'उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणको हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको हो ।'
निर्माण शुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि कोरोना महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको छ । २०७४ देखि आयोजनाको निर्माण अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए ।
आयोजनाबाट वार्षिक १४ दशमलव ६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २ दशमलव ८६८ र वर्खायाममा ११ दशमलव ७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ । आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

























