नेपाली श्रमिकका पीडा : भारतले न रकम दियो, न जवानी बाँकी रह्यो
वि.सं.२०७८ पुस ३ शनिवार १५:०५
shares

जाजरकोटकाे बारेकोट गाउँपालिका-२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै गाउँ फर्केको छ ।
कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताउँछन् । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनकाे भनाइ छ । 'दिनमा भारतीय रूपैयाँ ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ”, उनले भने । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गरेकाे भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए ।
नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् । भारतमा काम गरेर फर्केपनि न त उनकाे जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको छन् ।
सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । अहिले रित्तै भाइबुहारीको घरमा फर्किएका छन् । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनकाे गुनासाे छ । उनीहरू जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा यही हाे । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको उनीहरूकाे अनुभवले बताउँछ ।
बारेकोट गाउँपालिका-२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गए । कालापारमा कमाइ गर्न गएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् । उनले भने, 'भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।' ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उनकाे अनुभव छ ।
उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनले बताए । अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेकाे जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए ।

























