नारायणीबाटै देवघाट जान ओलीलाई नागरिक अगुवाको सुझाव
वि.सं.२०७८ मंसिर १० शुक्रवार १३:०६
shares

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाविरुद्ध नेपाल बार एशोसिएशन र नागरिक अगुवाहरुले ‘वालुवाटार न्याय मार्च’ गरेका छन् । बिहिबार भएको ‘वालुवाटार न्याय मार्च’मा नेपाल बार एशोसिएशन र सर्वाेच्च बारसहित बृहत नागरिक आन्दोलनसमेत सहभागी भएको छ । आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे ।
‘जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन् । यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उनले भने ।
त्यस्तै वाग्लेले न्यायालयप्रतिको धारणा नसच्याए पूर्वप्रधानमन्त्री एव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नारायण किनारबाट देवघाट जान सुझाव दिएका छन् । ‘तपाईं काठमाडौं नफर्किए हुन्छ यही सोच्ने हो भने । नजिकै देवघाट छ । नारायणी किनारबाट तपाईं देवघाट जानुस् । पाँच लाख कार्यकर्ताले ११ रुपैयाँ उठाएर पनि तपाईंलाई सुनको कमण्डलु किन्न पुग्छ ।’
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको पनि चर्को आलोचना गरेका छन् । राजनीति गर्ने, देश बनाउँछु भन्नेले न्यायापालिका बनाउनु पर्छ कि पर्दैन भन्ने प्रश्न गरेका छन् ।

























