गृहपृष्ठ ‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले घाेषणा गरे ‘गाउँ आएको बाटो’
‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले घाेषणा गरे ‘गाउँ आएको बाटो’
‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’जस्ता उत्कृष्ट सिनेमा निर्देशन गरेका निर्देशक नवीन सुब्बाले नयाँ फिल्मको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुब्बाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को घोषणा भएको हो ।
एक दशकअघि सुब्बाले ‘गुडबाई काठमाडौं’ निर्देशन गरेपछि अन्य फिल्म बनाएका थिएनन् । उक्त फिल्म पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनोट भइ प्रदर्शन भएको थियो । पछिल्लो फिल्म बनाएको एक दशकपछि सुब्बाको निर्देशनमा ‘गाउँ आएको बाटो’ निर्माण हुने घोषणा भएको छ । सुब्बाको निर्देशनमा बन्ने सिनेमामा महेश राई र नवीन सुब्बाको कथा रहेको छ । फिल्ममा राई समुदायको कथालाई प्रस्तुत गरिने पत्रकार सम्मेलनमा बताइएको थियो ।
आमोद राईको लगानीमा बन्न लागेको फिल्ममा अमेरिकी फिल्मकर्मी मार्किन कापरोनले छायांकन गर्नेछन् । दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा रहेको फिल्ममा पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायतका कलाकारको अभिनय हुनेछ । फिल्मको छायांकन भने केही दिनपछि भोजपुरका ग्रामीण भेगहरूबाट सुरु हुने निर्देशक सुब्बाले बताए ।
प्रकाशित समय : २१:४४ बजे



















