काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

735
shares

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब १८ देखि २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए ।

उनका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ । बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्याएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं २ नागढुङ्गा र ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन् । त्यहाँ रहेका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाको श्रमिक आवास (लेबर क्याम्प)बगाएको छ । मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा पनि क्षति पुगेको छ ।

आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीले बगाएका आवास र श्रमिक क्याम्पलगायत संरचना पुनर्निर्माण गरी तिहारलगत्तै आयोजनाको काम अघि बढाउने तयारी गरिएको उनले बताए ।

विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो । बाढीले निर्माणका महत्त्वपूर्ण संरचनामा क्षति पुर्याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । बाँधबाट ल्याइएको पानी १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ ।

नदी प्रवाहमा आधारित(९रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ ।

तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड अनुमान गरिएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ ।