काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युवा जलवायु सम्मेलन सम्पन्न

735
shares

कर्णाली। ‘जलवायु न्याय सबैको अधिकार, सुरक्षित भविष्य हाम्रो आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन २०८३’ सम्पन्न भएको छ । सम्मेलनले छ बुँदे घोषणापत्र जारी गरेको छ ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आयोजित सम्मेलनले जलवायु परिवर्तनको असर भोग्ने पक्षका रूपमा मात्र नभई यसको समाधानमा पनि युवाको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ ।

घोषणापत्रमा जलवायुसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । प्रदेश तथा स्थानीय तहले जलवायु, वातावरण, विपद् र विकास योजना बनाउँदा युवाको सुझाव लिनुपर्नेमा पनि जोड दिइएको छ ।

त्यस्तै, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका लागि जोखिम नक्साङ्कनमा युवाको सहभागिता गराउनुपर्ने र स्थानीय अनुकूलन कार्ययोजना बनाएर वार्षिक योजना तथा बजेटसँग जोड्नुपर्ने घोषणापत्रमा उल्लेख छ । यस्ता योजनाको कार्यान्वयन र प्रगति सार्वजनिक गर्नुपर्ने पनि जनाइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा सुदीप ठकुरीका अनुसार घोषणापत्रमा जलवायु उत्थानशीलता र खाद्य सुरक्षाका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा सामुदायिक बीउ बैंक स्थापना गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

स्थानीय बाली र बीउ संरक्षण, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई प्राथमिकता दिनुपर्ने र जलवायुमैत्री कृषि प्रविधि विस्तार गर्नुपर्ने विषय पनि समेटिएका छन् । कर्णालीमा हरित रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न रोजगारी तथा उद्योग नीतिमा प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

नवीकरणीय ऊर्जा, फोहर व्यवस्थापन, दिगो पर्यटन र जडीबुटी प्रशोधनमा युवाको उद्यमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालका निर्देशक गौतमराज अधिकारीले जानकारी दिए ।

घोषणापत्रमा जलवायु अनुकूलन, विपद् न्यूनीकरण र हरित रोजगारीका लागि छुट्टाछुट्टै बजेट शीर्षक र पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ । जलवायु बजेट, स्रोत परिचालन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । त्यस्तै, वातावरण संरक्षण तथा प्रकृतिमा आधारित समाधानका लागि प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवालाबीच सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।