global ime bank Long Banner Ad

गृहपृष्ठ न्युरोडमा महर्जन कम्प्लेक्स सञ्चालन

न्युरोडमा महर्जन कम्प्लेक्स सञ्चालन

न्युरोडमा महर्जन कम्प्लेक्स सञ्चालन

न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।

प्रवर्द्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३-४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ । कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु उनले बताए ।

‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ,’ महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ ।’ व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको भनाइ छ । ‘काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो,’ महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।’

लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भाग तथा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर नजिकै रहेकाले उक्त कम्प्लेक्स रहेको क्षेत्र विश्वकै गन्तव्य भएको उनी दाबी गर्छन् । ‘त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना राख्नेलाई पनि हामीले सम्बोधन गरेका छौं,’ महर्जनले भने, ‘एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय हो ।’ कम्प्लेक्समा पाँच दर्जन कबल छन् ।

महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । प्रवर्द्धकका अनुसार कम्प्लेक्सभित्र कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ जस्ता सुगन्धित फूलको बास्ना मगमगाउँछ ।

कम्प्लेक्सको बीच भागमा प्रशस्त खुला ठाउँ छाडिएको छ । चारैतिर भवनले घेरिएको बीच भाग खालि देख्दा काठमाडौंको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । कम्प्लेक्स सम्पदामैत्री शैलीको छ । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु