गृहपृष्ठ रौतहटमा कार दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु
रौतहटमा कार दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु
गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौरभन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौकनजिकै शनिबार राति ९ बजे अनियन्त्रित भएर कार बाटो छेउ तलाउमा खसेको थियो ।
दुर्घटनालगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्धार गरी तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतीय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर, चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किने क्रममा उक्त दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
प्रकाशित समय : १४:५५ बजे



















