global ime bank Long Banner Ad

गृहपृष्ठ बीएसईमा सूचीकृत भयो नेपाली उद्यमी दीपजंग थापाको कम्पनी, आईपीओ २०५ गुणा बढी आवेदन

बीएसईमा सूचीकृत भयो नेपाली उद्यमी दीपजंग थापाको कम्पनी, आईपीओ २०५ गुणा बढी आवेदन

बीएसईमा सूचीकृत भयो नेपाली उद्यमी दीपजंग थापाको कम्पनी, आईपीओ २०५ गुणा बढी आवेदन

काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सह–संस्थापक रहेको भारतीय साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेड बम्बे स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत भएको छ। कम्पनीका अनुसार यसको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) २०५.०८ गुणा बढी आवेदन परेको थियो।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आईपीओ असार १६ गते खुला भई असार १८ गते बन्द भएको थियो। आईपीओमा उच्च आवेदन परेपछि कम्पनी भारतीय पुँजी बजारमा नेपाली उद्यमी संलग्न रहेको पहिलो सूचीकृत कम्पनी भएको दाबी गरिएको छ।

क्रतिकल टेक सन् २०१३ मा दीपजंग थापा, पवन कुमार र परतोष कुमारले स्थापना गरेका हुन्। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित साइबर सुरक्षा समाधान तथा कम्प्लायन्स सेवा उपलब्ध गराउँदै आएको छ।

खोटाङका स्थायी बासिन्दा थापा कम्पनीका सह–संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन्। उनी मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी)बाट इन्जिनियरिङ अध्ययन गरेका हुन्। यसअघि उनी पेटीएममा प्रोडक्ट म्यानेजरका रूपमा कार्यरत थिए।

आईपीओपछि प्रतिक्रिया दिँदै थापाले नयाँ लगानीले कम्पनीको अन्तर्राष्ट्रिय विस्तार, नयाँ प्रविधि विकास तथा साइबर सुरक्षा सेवालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।

कम्पनीका अनुसार यसको स्थापना तीन संस्थापकमध्ये एकजनाको इमेल क्याम्पसको साझा कम्प्युटरबाट ह्याक भएपछि साइबर सुरक्षाको आवश्यकता महसुस गर्दै गरिएको थियो।

हाल कम्पनीले बैंक तथा वित्तीय संस्था, फिनटेक, दूरसञ्चार, सूचना प्रविधि, स्वास्थ्य, औषधि, ई–कमर्स र उत्पादन क्षेत्रका ग्राहकलाई भारत, मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार करिब नौ वर्षअघि एन्जल लगानीकर्ताबाट लगानी जुटाएको क्रतिकल टेकको हालको मूल्यांकन करिब ३२३ करोड नेपाली रुपैयाँ पुगेको छ। आईपीओबाट प्राप्त रकम अमेरिका र मध्यपूर्वलगायतका बजारमा विस्तारका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।

नेपालमा भने कम्पनीले साइबर सुरक्षा सेवा विस्तारका लागि काठमाडौंस्थित ग्याप टेक्नोलोजीजसँग साझेदारी गरेको जनाएको छ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु