गृहपृष्ठ मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र पायो
मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र पायो
काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ (Great Place to Work) प्रमाणपत्रबाट सम्मानित भएको छ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्र कर्मचारीहरूले आफ्नै कार्यस्थलबारे दिएको प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिएको हो। यस वर्ष ८७ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन्।
ग्रेट प्लेस टु वर्क कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका अभ्यासको मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यसले कर्मचारी सन्तुष्टि, संस्थागत संस्कृति र नेतृत्वको प्रभावकारिताका आधारमा संस्थालाई प्रमाणित गर्ने गर्छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले लगातार दोस्रो वर्ष यो मान्यता प्राप्त गर्नु कम्पनीका कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्यको प्रतिफल भएको बताए।
उनका अनुसार कम्पनीले समावेशी, सुरक्षित र सकारात्मक कार्य वातावरण निर्माणलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो एक वर्षमा आधुनिक प्रविधियुक्त प्रमुख कार्यालय स्थापना, कर्मचारी स्वयंसेवा कार्यक्रम सञ्चालन तथा कर्मचारी अनुभव सुधारका विभिन्न पहल गरिएको उनले बताए।
कम्पनीका अनुसार ९१ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थल भएको बताएका छन् भने ९६ प्रतिशतले यसलाई शारीरिक रूपमा सुरक्षित कार्यस्थलका रूपमा मूल्याङ्कन गरेका छन्। त्यस्तै, ९४ प्रतिशत कर्मचारीले मेटलाइफमा काम गर्न र कम्पनीको सामाजिक योगदानप्रति गर्व महसुस गर्ने बताएका छन्।
मेटलाइफ नेपालले सन् २००१ देखि नेपालमा जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : २०:१० बजे

















