गृहपृष्ठ व्यावसायिक खेती र साना व्यवसायबाट रौतहटका एक हजारभन्दा बढी महिला आत्मनिर्भर
व्यावसायिक खेती र साना व्यवसायबाट रौतहटका एक हजारभन्दा बढी महिला आत्मनिर्भर
रौतहट । रौतहटका चन्द्रपुर र राजपुर नगरपालिकाका एक हजारभन्दा बढी महिला व्यावसायिक तरकारीखेती, पशुपालन तथा साना उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्।
ग्रामीण विकास केन्द्र नेपालले सञ्चालन गरेको लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाअन्तर्गत महिलाहरूलाई व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग, तालिम र वित्तीय साक्षरता प्रदान गरिएपछि उनीहरूको आयआर्जन बढ्न थालेको हो।
चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीले करिब पाँच कट्ठा जग्गामा लौका, करेला र घिरौलालगायत तरकारी खेती गर्दै दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्मको तरकारी बिक्री हुने बताइन्। आफ्नै आम्दानी हुन थालेपछि परिवारको आर्थिक अवस्था सुधारिनुका साथै महिला अधिकारबारे पनि आफू सचेत भएको उनको भनाइ छ।
यस्तै, चन्द्रपुर–७ की दिलकुमारी काफ्ले बाख्रापालन, सुनिता माझी किराना पसल तथा राजपुर नगरपालिका–९ की मिना देवी व्यावसायिक तरकारीखेतीबाट आम्दानी गरिरहेका छन्। राजपुर–९ की गुलसन खातुन र राजपुर–५ की जरिमा खातुन टेलर व्यवसाय सञ्चालन गरेर परिवारको खर्च धान्दै आएका छन्।
परियोजनाका कार्यक्रम संयोजक धर्मेन्द्र साहका अनुसार चन्द्रपुर र राजपुर नगरपालिकाका १२ वडामा लैङ्गिक हिंसाबाट प्रभावित तथा जोखिममा रहेका महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ।
उनका अनुसार चन्द्रपुरमा १७ समूहका ४३० र राजपुरमा २३ समूहका ५८० महिलालाई प्रतिव्यक्ति ६५ हजार रुपैयाँका दरले व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ। महिलाको रोजाइअनुसार तरकारीखेती, पशुपालन, सिलाइ–कटाइ, किराना व्यवसायलगायतका उद्यम सञ्चालनमा सहयोग गरिएको उनले बताए।
परियोजनाअन्तर्गत सामुदायिक सिकाइ तथा संरक्षण केन्द्रमार्फत किशोरी र महिलालाई नेतृत्व विकास, जीवनोपयोगी सीप, वित्तीय साक्षरता तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना सम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेको छ। हालसम्म दुई हजार चार सयभन्दा बढी बालबालिकाले रुपान्तरण पाठ्यक्रम पूरा गरिसकेको परियोजनाले जनाएको छ।
ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले महिलालाई व्यवसाय सञ्चालनसँगै वित्तीय साक्षरता, नेतृत्व विकास तथा परिवारका पुरुष सदस्यलाई समेत लैङ्गिक समानता र महिला अधिकारसम्बन्धी अभिमुखीकरण दिइँदै आएको बताए। रासस
प्रकाशित समय : २०:२८ बजे


















