गृहपृष्ठ खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ
काठमाडौँ।नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका २७ वर्षीय मनिष श्रेष्ठ, २१ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागुऔषध कारोबार गर्ने गिरोहलाई ३०० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका मनिष यसअघि पनि लागुऔषध मुद्दामा सात महिना कैद भुक्तान गरी रु एक लाख धरौटीमा छुटेका व्यक्ति रहेका उनले बताए।
प्रहरीले निजहरूको साथबाट ३०० ग्राम लागुऔषध खैरो हेरोइन, एक थान स्कुटर र तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रकाशित समय : १८:३२ बजे



















