गृहपृष्ठ घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ
घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छन् । यसअघि महासंघको उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समिति अध्यक्षसहित महासंघका विभिन्न जिम्मेवारीमा काम गरिसकेकी छन् ।
ललितपुरमा सम्पन्न महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्यनारायण अग्रवाल, साना उद्योगतर्फ यादवकुमार अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापती, कृषितर्फ चन्द्रबहादुर बुढा क्षेत्री तथा नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्षमा उमेशप्रसाद सिंह रहेका छन् ।
महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जटी, सचिवमा प्रेमबहादुर डीसी तथा सहकोषाध्यक्षमा हेमविक्रम जीसी निर्वाचित भएका छन् ।
त्यसैगरी प्रदेश सदस्यहरूमा कोशी प्रदेशबाट गोपाल काफ्ले, शरणकुमार राई र रुपाकुमारी श्रेष्ठ, मधेश प्रदेशबाट उमेश दाहाल, नवीनकुमार यादव र पूर्णकुमारी कार्की, बागमती प्रदेशबाट तारानिधि पोखरेल, रमेश ढुंगाना र पदमकुमारी कार्की, गण्डकी प्रदेशबाट गोपी अधिकारी र बिन्दु पोखरेल काफ्ले, लुम्बिनी प्रदेशबाट बसन्त रोक्का क्षेत्री, रामचरण विक र प्रेमकुमारी पुन, कर्णाली प्रदेशबाट अजयबहादुर गिरी, रामकृष्ण चौलागाईं र सुजाता कँडेल तथा सुदूरपश्चिम प्रदेशबाट भीमबहादुर कुँवर र महेशप्रसाद दाहाल चयन भएका छन् ।
महासंघले खुला सदस्य, महिला सदस्य, वस्तुगत संघ, एसोसिएट्स, सहकारी तथा नवीकरणीय ऊर्जा समूहका सदस्यहरू पनि चयन गरेको छ ।
यस्तै केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा रीता अवाल निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष (उद्यम व्यवसाय) मा शर्मिला खत्री, उपाध्यक्ष (संगठन) मा सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ तथा सचिवमा दीपा शाक्य निर्वाचित भएका छन् । समितिका अन्य सदस्यहरू पनि चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो चयनलाई व्यक्तिगत सफलताभन्दा सम्पूर्ण उद्यमीहरूको विश्वासका रूपमा लिएको बताइन् । उनले महासंघलाई नयाँ ढंगले अघि बढाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै महासंघको उपस्थितिलाई देशभर विस्तार गर्दै उद्योगीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सक्ने वातावरण निर्माणमा जोड दिने बताइन् ।
केन्द्रीय महिला उद्यमी समितिकी नवनिर्वाचित अध्यक्ष रीता अवालले नयाँ नेतृत्वसँगै टिमवर्कमा काम गर्दै प्रणाली, प्रोफाइल, उद्यमशीलता, सञ्जाल निर्माण र सुशासनलाई प्राथमिकतामा राखेर महासंघको छवि र गरिमा अझ उँचो बनाउने बताइन् ।
प्रकाशित समय : २१:२९ बजे



















