गृहपृष्ठ फोनपेले ‘Checkout by Fonepay’ सार्वजनिक गर्यो, पहिलो मर्चेन्टका रूपमा फास्टोमा सेवा सुरु
फोनपेले ‘Checkout by Fonepay’ सार्वजनिक गर्यो, पहिलो मर्चेन्टका रूपमा फास्टोमा सेवा सुरु
ललितपुर । फोनपेले ‘Checkout by Fonepay’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानी प्रक्रियालाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको हो ।
इ–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुने अपेक्षा गर्न थालेका छन् । तर, परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन विवरण प्रविष्ट गर्नुपर्ने, ओटीपी प्रमाणीकरण तथा भुक्तानी पुष्टि हुन पर्खनुपर्ने र पुनः व्यापारीको प्लेटफर्ममा फर्केर खरिद प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको छ ।
अतिरिक्त चरणहरूले चेकआउट प्रक्रियामा अवरोध सिर्जना गर्दै ढिलाइ, बीचमै रोकिएका कारोबार तथा अधुरा खरिद बढाउने गरेका छन् । विश्वव्यापी रूपमा करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी नै छोडिने गरेको र यसको प्रमुख कारणमध्ये लामो वा जटिल चेकआउट प्रक्रिया पनि रहेको फोनपेले जनाएको छ ।
भुक्तानी प्रक्रियालाई सरल बनाउँदै ‘Checkout by Fonepay’ ले इ–कमर्स क्षेत्रका प्रमुख चुनौती समाधान गर्ने तथा व्यापारीहरूलाई रूपान्तरण दर र ग्राहक सन्तुष्टि बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।
‘Checkout by Fonepay’ मार्फत ग्राहकहरूले व्यापारीको चेकआउट प्रक्रियामै सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । यसले अनावश्यक चरण हटाई अनलाइन भुक्तानीलाई छिटो र सुविधाजनक बनाउने तथा व्यापारीहरूलाई सफल भुक्तानी दर बढाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
हाल ‘Checkout by Fonepay’ कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत उपलब्ध रहेको छ ।
आगामी महिनाहरूमा थप बैंक, वित्तीय संस्था तथा व्यापारी प्लेटफर्मलाई पनि यस सेवामा आबद्ध गरिने फोनपेले जनाएको छ ।
यस अवसरमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्ने बताए । उनले ‘Checkout by Fonepay’ अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको र यसले ग्राहकका लागि कारोबारलाई छिटो तथा सहज बनाउनुका साथै व्यापारीलाई उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्न सहयोग गर्ने बताए ।
पहिलो मर्चेन्ट एकीकरणका रूपमा ‘Checkout by Fonepay’ अब फास्टोमा उपलब्ध भएको छ । यसबाट ग्राहकहरूले अनलाइन अर्डर गर्दा चेकआउट प्रक्रियामै सिधै भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाको सुरुवातको अवसरमा फोनपेले फास्टोसँगको सहकार्यमा “What the FAST! – Fatafat Order. Fatafat Checkout.” नामक विशेष उपभोक्ता अभियान सञ्चालन गरेको छ । जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत फास्टोमार्फत अर्डर गरी ‘Checkout by Fonepay’ प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकहरूले २० प्रतिशत क्यासब्याक (अधिकतम रु. १ हजारसम्म) प्राप्त गर्न सक्नेछन् ।
‘Checkout by Fonepay’ को सुरुवातले सुरक्षित, नवीन तथा ग्राहक–केन्द्रित भुक्तानी समाधानमार्फत नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुदृढ बनाउने फोनपेको अभियानमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २०:४९ बजे



















