ग्राण्डीले सरकारले तोकेभन्दा कम शुल्कमा पीसीआर परीक्षण गर्ने
वि.सं.२०७८ जेठ १९ बुधवार १३:००
shares

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पीसीआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव संकलन गर्न लागेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाब संकलन गर्न लागिएको जानकारी दिए । 'गत बुधबारदेखि पीसीआर परीक्षण ल्याब सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाब संकलन गर्न लागेको हौं,' उनले भने । स्वाब संकलनको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । पीसीआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पुर्याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
अस्पतालले पीसीआर परीक्षणका लागि एक हजार ५०० शुल्क तोकेको छ । यस्तै, बिरामीको घरमा पुगेर स्वाब लिएमा सेवाबापत थप पाँच सय लाग्नेछ । सरकारले दुई हजारसम्म पीसीआर परीक्षणका लागि शुल्क तोके पनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो । सहुलियत दरमा पीसीआर परीक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पीसीआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ ।
‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाब परीक्षण गर्न मिल्नेछ । परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पीसीआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानुनपर्ने भएको छ । स्वाब संकलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ । उक्त प्रयोगशालामा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार पीसीआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ । (रासस)

























