‘बुक बिल्डिङ’मा जान लागेको सर्वोत्तममाथि बोर्डको निगरानी
वि.सं.२०७७ चैत ११ बुधवार १२:३२
shares

वास्तविक क्षेत्रका उद्योग तथा कम्पनी एकपछि अर्को गर्दै साधारण सेयर बिक्रीमा केन्द्रित भइरहेका छन् । शिवम् सिमेन्टले सुरु गरेको साधारण सेयर बिक्रीको क्रम चन्द्रागिरि हिल्ससम्म आइपुगेको छ ।
सेयर बजारको विस्तार र विकासका लागि वास्तविक क्षेत्रका कम्पनी तथा उद्योगको सेयर बजारमा प्रवेश जरुरी रहेको भन्दै सरकारले बजेटमा समेत उल्लेख गरेको छ । सरकारको सोही योजनाअनुसार वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्ने ध्येयका साथ नेपाल धितोपत्र बोर्डले साधारण सेयरमा ‘बुक बिल्डिङ विधि’ कार्यान्वयनमा ल्याएको जनाएको छ । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा साधारण सेयर बिक्री गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको छलफलमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले सेयर बजारको विस्तारका लागि बुक बिल्डिङ विधि पनि एउटा उपाय भएको बताए । यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्य कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा कम असर पर्ने उनको विश्वास छ । धितोपत्र निष्कासनका लागि गराइएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसतभन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र तीन आर्थिक वर्षमा लगातार नाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट साधारण सेयर बिक्री गर्नसक्ने छन् ।
बुक बिल्डिङ विधिबाट साधारण सेयर निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न पाउने छैनन् । संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।
पहिले अनिवार्य २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहे पनि बोर्डले केही समयअघि मात्रै चुक्ता पुँजीको १० प्रतिशतमात्रै प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ ।
यसैबीच, सर्वोत्तम सिमेन्टले साधारण सेयर बिक्री गरेको तीन महिनाभित्रै २५ प्रतिशत नगद र १० प्रतिशत बोनससहित ३५ प्रतिशत लाभांश दिने सार्वजनिक गरिरहेकोमा बोर्डले त्यस्तो गतिविधि नियालिरहेको बताएको छ । कार्यकारी निर्देशक गिरीले भने, 'कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौँ’ भन्न मिल्दैन ।'

























