ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’
वि.सं.२०७७ चैत ११ बुधवार १२:१८
shares

दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् ।
‘असारे महिनामा…’, ‘साँघुरी वारी…’, ‘साउने खोला…’, ‘लेकाली हो हो…’, ‘शिर शाय हेगु…’, ‘झम्के फुली…’, ‘एही ठहिया…’, ‘नेपाली हामी रहौँला…’, बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको छ । सोमबार साँझ करिब दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेसनल परेड स्क्वायर’ सभाकक्षा गुञ्जयमान भयो ।
बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले ‘नेपाल‑बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरिन् । सम्बोधनपछि सांस्कृतिक कार्यक्रम गरिएको हो, जसलाई राष्ट्रपतिद्वयसँगै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि अवलोकन गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार भ्रमणका अवसरमा बङ्गलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको हो । सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यसपटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा‑प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी थिए । दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि सांस्कृतिक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर पनि हुनुले दुई देशबीचको कला र संस्कृतिको आदानप्रदानको महत्व बढ्दो रहेको मान्न सकिन्छ ।
भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो । टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो । टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले थिए ।
महाप्रबन्धक राईले आफ्नो तर्फबाट मेहनत गरी प्रस्तुति गरिएको र अपेक्षाकृत राम्रो भएको बताए । टोली सहभागी नृत्यकार सनम खड्गीले आफूले यस प्रकारको मञ्च र राजकीय भ्रमणमा पहिलो पटक प्रस्तुति दिन पाउँदा खुसी व्यक्त गरे ।
कार्यक्रममा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा‑प्रतिष्ठानका कुलपति उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलगायतले सांस्कृतिक प्रस्तुति हेरेका थिए । भ्रमण दलमा १९ कलाकारसहित नेपाली दूतावासका समेत गरी ५४ जना सहभागी थिए । (रासस)


























