काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सम्झौता अवधिभन्दा दुई महिनाअघि नै सम्पन्न भयो आयुर्वेदको भवन

16.09K
shares

खोटाङको दिक्तेल ।

……………………………..

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले चैत पहिलो हप्ता सम्पन्न गरेर मंगलबार औपचारिक रूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।

निर्माण कम्पनी र आयोजनाबीच २०७८ जेठ १६ गते सक्ने गरी २०७६ जेठ १६ गते सम्झौता भएकोमा दुई महिनाअघि नै निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर आयुर्वेदलाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि भीषण राईले बताए । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको सात करोड ३६ लाख २१ हजार १७९ लागतमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्य टोलमा भवन निर्माण गरिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि राईले तीनतले पक्की भवनको चाबी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजयकुमार झालाई हस्तान्तरण गरेका छन् । नवनिर्मित आयुर्वेद स्वास्थ्य केन्द्र भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको सहरी तथा भवन निर्माण आयोजना इन्जिनियर विनोद सिंहले बताए ।

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं आयुर्वेद सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले विकासे कामको महसुस बल्ल गर्न पाइएको बताए ।

भवन निर्माणका लागि स्थानीय पदम आचार्य, पर्शु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टंकप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले चन्दा उठाएर खरिद गरेको एक रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आचार्य टोलमा निर्माण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन जिल्लास्थित सरकारी कार्यालयमध्ये सबैभन्दा ठूलो भवन हो ।

कार्यालय भवन अभावमा दिक्तेलस्थित सरस्वती मावि अगाडि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्र केही समयपछि आफ्नै भवनमा सर्ने केन्द्र प्रमुख झाले बताए । नवनिर्मित भवनमा सेवा प्रवाहका लागि आवश्यक उपकरण जडान गरेर वैशाख पहिलो साताभित्र सेवा सुरु गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्स्ट्रक्सनले समयावधि अगाडि सम्पन्न गरेर उदाहरणीय काम गरेको स्थानीयले बताएका छन् । १० स्थानीय तह रहेको खोटाङमा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका छन् । (रासस)