उकालोमा कोरोनाको ग्राफ : २४ घण्टामा १८८ जना संक्रमित
वि.सं.२०७७ चैत १० मंगलवार २३:१०
shares

पछिल्लो केही दिन यता नियन्त्रणमै आउन लागेको कोरोना भाइरस फेरि फैलन सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा कोरोनाको महामारीको संक्रमण बढ्दै गएपछि नेपालमा पनि गएको हप्तादेखि कोरोनाको ग्राफ उकालो लागेको हो । गएको हप्ता मात्रै नेपालमा एक दिनमा ११४ जनामा कोभिड संक्रमण देखिएको थियो । ठीक त्यसको एक हप्तापछि मंगलबार १८८ जना संक्रमित थपिए । एक हप्तामै दैनिक ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार चार हजार ३२ जनाको कोभिड परीक्षण भएकोमा १८८ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म नेपालमा आरटी पीसीआर परीक्षण २२ लाखभन्दा बढीको भइसकेको छ । परीक्षणमध्ये दुई लाख ७६ हजार २४४ जनामा संक्रमण देखिएको छ । त्योसँगै ९८.५ प्रतिशतमा डिस्चार्ज भइसकेका छन् भने एक हजार १२८ जनाको आइसोलेसनमा बसेका छन् । त्यस्तै अहिलेसम्म तीन हजार १९ जनाको कोभिडका कारण ज्यान गइसकेको छ ।

























