सीमा नाकाबाट फर्किने नागरिकको एन्टिजेनबाट परीक्षण गर्न अनुरोध
वि.सं.२०७७ चैत ८ आइतवार १५:३०
shares

भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि सुदूरपश्चिममा भारतसँग जोडिएका सीमा नाकाबाट फर्किने नागरिकहरुको एन्टिजेनबाट परीक्षण गर्न अनुरोध गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिमका ४ वटा नाकाबाट स्वदेश फर्कने नागरिकहरुको एन्टिजेनबाट कोरोना परीक्षण गर्न निर्देशन दिएको हो । भारतका विभिन्न सहरहरुमा कोरोना रोगको दोस्रो लहर आउन थालेको र भारतले दोस्रो लहर देखा परेको सहरहरुमा लकडाउन लगायतका अन्य प्रभावकारी कदमहरु लागू गर्दै गएको छ । त्यसकारण सुदूरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाहरुमा ४ वटा नाकामा अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।
डा. लोहनीका अनुसार कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कबाट भारतमा काम गरेर फर्केका नागरिकहरुको अनिवार्य एन्टिजेनबाट परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिइएको हो । आवश्यक एन्टिजेन किटको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीसँग समन्वय गर्न आग्रह गरिएको छ । परीक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएमा त्यस्ता व्यक्तिहरुलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको उनले बताए ।

























