काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

18.33K
shares

म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो । हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गरेका थिए । यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो टोलीलाई बिदाइ गरेका थिए । कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो । सेभेन समिट ट्रेकमार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन् ।

जोखिमयुक्त ‘मौरिज हर्गोज’ पदमार्गमार्फत गरिने अन्नपूर्ण आरोहणको प्रचारप्रसारका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताए । पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहेका छन् । कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेका थिए । करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ । 

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले आरोही टोलीलाई व्यक्तिगतरूपमा रु एक लाख र गाउँपालिकाबाट रु चार लाख बजेट उपलब्ध गराएको बताए । गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्सांकन, पूर्वाधार निर्माण र प्रवर्द्धन सुरु गरेको अध्यक्ष पुनले बताए ।

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो । नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् । गण्डकी प्रदेश सरकारले पूर्णिमाको आरोहण टोलीलाई रु आठ लाख आर्थिक सहयोग गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहनेछ । गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन् । (रासस)