काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुप्से झरनाको मनमोहक रूपले तान्छ पर्यटकको मन

819
shares

म्याग्दी । अग्लो पहाडको छातीबाट कलकल गर्दै झर्ने पानी, वरिपरि हरियालीले ढाकिएका डाँडाकाँडा र झरनाबाट उड्ने पानीका मसिना छिटाले जोकोहीको मन लोभ्याउँछ । भारतको छत्तीसगढबाट नेपाल भ्रमणमा आएका दिनेश मिश्रालाई पनि झरनाको यो सुन्दरताले लोभ्यायो । नेपाल भ्रमणका क्रममा काठमाडौं र पोखरा घुमिसकेका उनी जोमसोम हुँदै मुक्तिनाथ दर्शनका लागि जाने क्रममा यो झरना अर्थात रुप्सेको अवलोकन गर्न पुगेका थिए ।

प्रकृतिको अनुपम सौन्दर्यले भरिएको रुप्से झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित रुप्से झरना बेनी–जोमसोम सडकखण्ड भएर यात्रा गर्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मुस्ताङ र मुक्तिनाथ दर्शनका लागि जाने पर्यटकसमेत यहाँ केही समय रोकिने र झरनाको मनमोहक दृश्यमा रमाउने गरेका छन् ।

समुद्र सतहबाट करिब १,८०० मिटर (५,९०० फिट) को उचाइमा रहेको यो झरना कुल लम्बाइ (उचाइ) करिब ३०० मिटर छ । स्थानियका अनुसार पछिल्लो समयमा भूस्खलनका कारण यो झरनाको आकारमा परिवर्तन आएको छ । यतिमात्रै होइन त्यो झरनाको निकटमा रहेको नेपालकै सबैभन्दा गहिरो मानिने अनध गल्छिको स्वरुपमा पनि परिवर्तन आएको छ । रुप्सेको आकर्षणलाई अन्तर्राष्ट्रिय करण गर्न विगतमा यसलाई हुलाक टिकटमा पनि छापिएको थियो ।

स्थानियहरु भन्छन्, ‘हुलाक टिकटमा त रुप्सेलाई देखाइयो तर यसको उचित संरक्षणमा सरकारले ध्यान दिन सकेन ।’

झरनाको प्राकृतिक सौन्दर्यले आफूलाई निकै प्रभावित बनाएको भारतीय पर्यटक मिश्राले बताए । उनले नेपालका विभिन्न स्थान घुम्दा यहाँको प्राकृतिक सुन्दरता र विकासका प्रयाससमेत राम्रो लागेको प्रतिक्रिया दिए।

‘हामी नेपाल घुम्न आएका हौँ । दुई दिन काठमाडौं र दुई दिन पोखरामा बितायौँ । जोमसोम जाँदैछौँ र त्यहाँबाट मुक्तिनाथजीको दर्शन गर्ने योजना छ । बाटोमा रुप्से झरना देख्यौँ । निकै राम्रो लाग्यो, रमाइलो ग¥यौँ । समग्रमा नेपाल धेरै राम्रो लाग्यो,’ मिश्राले भने ।

नेपालको सडक तथा पूर्वाधार विकासमा भइरहेको प्रगतिप्रति पनि उनले सकारात्मक धारणा व्यक्त गरे । सडक क्षेत्रमा राम्रो प्रगति देखिए पनि अझै केही सुधार गर्नुपर्ने उनको सुझाव छ ।

मिश्राको अनुभवले रुप्से झरना केवल स्थानीय पर्यटकीय आकर्षणमा सीमित नरहेको देखाउँछ । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आउने विदेशी पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य बनेको छ ।

विशेषगरी वर्षायाममा झरनाको सौन्दर्य अझ मनमोहक देखिन्छ । पहाडको उचाइबाट वेगका साथ खस्ने पानी, त्यसबाट निस्कने आवाज र वरिपरिको हरियालीले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । झरनाको दृश्य कैद गर्न र प्राकृतिक वातावरणमा रमाउन पर्यटकहरू मोबाइल तथा क्यामेरा निकाल्न व्यस्त देखिन्छन् ।

सडक छेउमै रहेको रुप्से झरनाले यात्रुलाई छोटो समयमै प्रकृतिसँग नजिकिने अवसर दिएको छ । बेनी हुँदै जोमसोम र मुक्तिनाथ जाने पर्यटकका लागि यो यात्राको विशेष आकर्षण बनेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना म्याग्दीको पर्यटन सम्भावना बोकेको महत्वपूर्ण सम्पदा हो । यसको सौन्दर्य संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।