मूल्यवृद्धि चुलियो : तरकारीको मूल्यमा व्यापारीको मनपरी
वि.सं.२०७७ चैत ८ आइतवार ०१:१०
shares

बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य बर्सेनि बढेको बढ्यै छ ।
डोटीका प्रमुख व्यापारी केन्द्रहरुमा तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।
व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ । एक हप्तादेखि डोटीमा हरियो तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको उपभोक्ताको गुनासो छ ।
तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको दिपायल पिपल्लाका स्थानीयवासी मानबहादुर धामीले बताए । 'उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ?' उनले भने ।
तरकारीसँगै फलफूलको मूल्यसमेत वृद्धि भएको छ । फलफूलहरुमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडा र प्याज प्रतिकिलो २०० रुपैयाँ पुगेको छ ।
केही दिनअघि प्रतिकिलो १०० रुपैयाँमा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको अर्का उपभोक्त वीरभान विकले बताए । उनले भने, 'सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेँडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ?'
पर्याप्त पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको श्रीवास्तव तरकारी पिपल्लाका व्यापारी महेश श्रीवास्तवले बताए । 'अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्य वृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो,' उनले भने ।
डडेल्धुरा, कैलाली र कञ्चनपुरबाट तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो १५०, लौका प्रतिकिलो ९०, हरियो खुर्सानी प्रतिकिलो १५० र स्मिला प्रतिकिलो ८० रहेको तरकारी व्यापारी बताउँछन् । यहाँको बजारमा तरकारीको मूल्यमा एकरुपता नभएकाले व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ ।
दिपायलका दिनेशबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य छ । मूल्यमा एकरुपता ल्याउन सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।
मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण हुन् । राजनीतिक अस्थिरतासँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । बजारमा तरकारी, तेल र खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन ।
तरकारी, खानेतेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । 'मूल्य बढ्नुको एउटै कारण राजनीति नै हो,' स्थानीय उपभोक्ता मानबहादुर धामीले भने, 'त्यसैको मौकामा ठगी गर्ने व्यवसायी थप सलबलाएका छन् ।'
तरकारी, खाने तेल र खाद्यान्नको मूल्य पनि क्रमिक रूपमा बढ्दै गएको छ । तर, बजार अनुगमन समितिले हस्तक्षेप गरिरहेको छैन । उपभोक्ता अधिकारकर्मी भने अनुगमन भए पनि संख्यात्मक र देखावटीमात्र भएको बताउँछन् । 'संख्या बढाउने अनुगमनले बजार सुधार हुँदैन । भएको पनि छैन,' उनीहरुले भने, 'अनुगमन जागिर र भत्ताका लागि मात्रै हुँदा उपभोक्ताले राहत महसुस गर्न पाएका छैनन् ।' कानुनविपरीत काम गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ । (विमलबहादुर विष्ट/रासस)

























