काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाठ्यक्रम निर्माणमा स्थानीय तहको वेवास्ता, जुन पुस्तक पाइन्छ त्यही पढाउँदै विद्यालय

15.52K
shares

भेरी माध्यमिक विद्यालय बराहताल- २, रानीघाटमा स्थानीय पाठ्यक्रमको साटो ऐच्छिक अंग्रेजी विषय अध्यापन गराइन्छ । अनिवार्य अंग्रेजीसहित स्थानीय विषयका रुपमा बजारमा किन्न पाइने अंग्रेजी विषयलाई कक्षा ५ सम्म अध्यापन गराइएको हो । स्थानीय पाठ्यक्रम निर्माणको मुख्य जिम्मेवारी स्थानीय तहको भए पनि सो कार्य हुन नसकेको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढाले बताए । स्थानीय तहले पाठ्यक्रम निर्माण नगरिदिएपछि आफ्नै तरिकाले आवश्यकताअनुसार अध्यापन गराउँदै आएको प्रधानाध्यापक बुढाको भनाइ छ । ‘हामीले आफैँ व्यवस्थापन गरेर अध्यापन गराउँदै आएका छौं । स्थानीय पाठ्यक्रमका रुपमा ऐच्छिक अंग्रेजी विषय पढाइएको हो,’ उनले भने । सम्बन्धित निकायले समेत ध्यान दिएर पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

जनज्योति माध्यमिक विद्यालय भेरीगंगा नगरपालिका- ६, झिङनेमा समेत स्थानीय पाठ्क्रमका रुपमा कम्प्युटर विषय अध्यापन गराइएको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणमा चासो नदेखाएपछि विद्यालयले कम्प्युटर विषयलाई स्थानीय पाठ्यक्रमका रुपमा अध्यापन गराउँदै आएको हो । विद्यालयका प्रधानाध्यापक मानबहादुर वलीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर विषय र कक्षा ३ देखि ५ सम्मकालाई तरकारी खेतीसम्बन्धी पाठ्यपुस्तक अध्यापन गराउँदै आएको बताए । उनले तरकारी खेतीसम्बन्धी बजारमा प्रशस्त किताब किन्न पाइने भएकाले सोही किताब अध्यापन गराएको बताए ।

शारदा प्राथमिक विद्यालय पञ्चपुरी नगरपालिका- ९, तल्लो विजुमा समेत स्थानीय पाठ्यक्रमको रुपमा बजारमा किन्न पाइने तरकारी खेतीको पाठ्यपुस्तक अध्यापन गराइन्छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण नगरिदिएका कारण विद्यालयले बजारबाट किनेर भए पनि कृषिसम्बन्धी ज्ञान विद्यार्थीलाई दिएको विद्यालयका प्राधानाध्यापक दधिराम वाग्लेले बताए । उनले भने, ‘हामीले पहिले प्रयास गरेको हो । तर सफल हुन सकिएन ।’ नगरका पर्यटकीय स्थल चिनाउने गरी पाठ्यपुस्तक निर्माण गरे पनि निरन्तर अध्यापन गराउन भने नसकिएको उनले सुनाए ।

विद्यालयको पाठ्यक्रममा हरेक स्थानीय तहहरुले कम्तिमा एउटा विषय स्थानीय पाठ्यक्रमअनुसार निर्माण गरी अध्यापन गराउनुपर्ने प्रावधान छ । आधारभूत तहका कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीलाई स्थानीय मातृ भाषामा पाठ्यक्रम निर्माण गरी अध्यापन गराउनुपर्ने भए पनि सुर्खेतका नौ वटै स्थानीय तहले पाठ्यक्रम निर्माण गरेका छैनन् । बरु स्थानीय पाठ्यक्रमको साटो विद्यालयहरुले अंग्रेजी र कम्प्युटर विषय अध्यापन गराइरहेका छन् । गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम विकले पाठ्यक्रम निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘हामीले कृषि लगायतका विषयलाई समेटेर पाठ्यक्रम निर्माण गर्दैछौं । समिति गठन गरी छलफल गर्दैछौं,’ उनले भने । उनले आर्थिक वर्ष २०७६/०७७ मा पाठ्यक्रम निर्माणका लागि बजेट विनियोजन गरेको भए पनि कोरोना भाइरसको कारण काम नभएको बताए ।

वीरेन्द्रनगर नगरपालिकाले समेत स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको छैन । शिक्षा शाखा प्रमुख उत्तम आचार्यले तत्काल स्थानीय पाठ्यक्रम निर्माणको तयारीमा जुटेको जानकारी दिए । ‘हामीले स्थानीय तहको संरचनादेखि उद्योग समेतलाई समेट्दैछौं,’ उनले भने, ‘कृषि, सांस्कृतिक र पर्यटकीय विषयसमेत समेटिन्छन् ।’ आचार्यले स्थानीय विज्ञले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ प्रकाशित गरी स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने गरी योजना बनाएको छ । तर सोहीबमोजिम स्थानीय तहहरुले काम गर्न सकेका छैनन् । पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा मातृभाषिक पक्षहरु, रोजगारी तथा स्वरोजगारीका लागि शिक्षा, पाठ्यक्रममा समावेशी पद्दति, वैकल्पिक तथा खुला शिक्षा, शिक्षामा जीवनउपयोगी सिप लगायतका विषयवस्तु समावेश गरिएको छ ।

स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माण गर्दा स्थानीय आवश्यकताको पहिचान गरी, पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गर्ने, राष्ट्रिय पाठ्यक्रमको ढाँचाको आधारमा पाठ्यक्रमको स्थानीय तहमा अनुकुल गरी स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गर्ने लगायतका विषयवस्तु समेटिएको हो । तर, सुर्खेतका स्थानीय तहहरुले त्यसअनुसार पाठ्यक्रम निर्माण गर्न सकेका छैनन् ।