काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वन मन्त्रालयले सार्वजनिक गर्‍यो ६२६ तालतलैयाको विस्तृत विवरण

23.02K
shares

झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सिमसार क्षेत्र ।

………………………………………………………………………………….

वन मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल संरक्षण विकास समितिले ३ हजार मिटरभन्दा कम उचाइमा रहेका तालतलैयाको विस्तृत विवरण सार्वजनिक गरेको छ । समितिले २०२१ फेब्रुअरीमा ३ हजार मिटरभन्दा कम उचाइमा रहेका ६२६ वटा तालतलैयाको विस्तृत विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अध्ययनअनुसार प्रदेश १ मा ८०, प्रदेश २ मा ८१, बागमतीमा २२२, गण्डकीमा ४२, लुम्बिनीमा ९८, कर्णालीमा ७ र सुदूरपश्चिममा ८७ वटा तालतलैया छन् । प्रदेशगत आधारमा जोड्दा भने तालको संख्या ६१७ मात्र हुन आउँछ । तथ्यांकगत त्रुटि हुन गएको र तालतलैयाको संख्या ६२६ नै रहेको समितिले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा नै २०७ वटा ताल रहेको समितिले जनाएको छ । ललितपुरमा ९७, काठमाडौँमा ५८ र भक्तपुरमा ५२ वटा ताल छन् ।

सरकारले सन् २००७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहने गरी समिति गठन गरेको थियो । संघीयता कार्यान्वयनमा आएसँगै समितिलाई वन मन्त्रालयअन्तर्गत राखिएको छ । तर, हालसमितिका पदाधिकारी र सदस्य नियुक्त गरिएको छैन ।

तालको अवस्थिति र वातावरणबारे जानकारी लिने र उचित संरक्षण, सम्वर्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको कार्यकारी निर्देशकमा मन्त्रालयका उपसचिव राजु सापकोटा छन् । तालहरूको धार्मिक तथा सांस्कृतिक महत्व, पर्यावरणीय अवस्था, सामाजिक–आर्थिक एवं पर्यटकीय सम्भावना लगायतलाई समेटेर अध्ययन प्रतिवेदन तयार पारिएको उनले जानकारी दिए ।

तालमा निर्भरता

अध्ययनले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायका १५ लाख ३३ हजारभन्दा बढी मानिस सिमसार र तालतलैयामा निर्भर रहने गरेको देखाएको छ । त्यस्तै नवलपरासीमा बसोबास गर्ने १ लाख ७२ हजार मुसहर समुदायमा मानिसक सिमसार र तालतलैयामा निर्भर छन् ।

पर्साका दुसध, पासवान र पासी समुदायका १ लाख ५८ हजार, नवलपरासीका १३६ हजार केवट, गण्डक ब्यारेजनजिकका १ लाख १५ हजार मल्लाह, चितवनका ९९ हजार कुमाल, भित्रि मधेसका ७१ हजार माझी, झापा, सिन्धुली, सिरहा र मोरङका ५३ हजार दनुवार तथा मोरङ, सुनसरी र सर्लाहीका ४१ हजार झाँगड, सुनसरी र सप्तरीका ३५ हजार सरदार, नलवपरासी र चितवनका १४ हजार दराइ र ७ हजार बोटे तथा गोरखाका ७ हजार बरामु समुदायका गरी कुल २४ लाख ४९ हजार मानिस सिमसार र तालतलैयामा निर्भर रहेको अध्ययनमा उल्लेख छ । २०६८ सालको जनगणनाअनुसार यो संख्या कुल जनसंख्याको करिब १० प्रतिशत हो ।

के के छन् विवरण ?

प्रतिवेदनमा तालतलैयाको विस्तृत विवरण उल्लेख छ । तालको अवस्थिति, संरक्षणको अवस्था, क्षेत्रफल, हावापानी, पानीको मात्रा, गुणस्तर, माटोको अवस्था, माछा, चराचुरुंगी, बोटबिरुवा, जनावर र अन्य जीवजन्तु भएको–नभएको पनि अध्ययनमा उल्लेख छ ।

त्यस्तै तालमा निर्भर जनसंख्या, प्रयोगको अवस्था, पर्यावरण, पर्यटक आगमनको अवस्था र पर्यटकीय सम्भावनालाई प्रतिवेदनले उजागर गरेको छ । संरक्षणका हिसाबले भने धेरै तालतलैया अलपत्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

अद्यावधिक छैन

प्रतिवेदन अध्ययन गर्दा सन् २०१२ देखि २०१६ सम्म तालहरूको सूचीकरण गरिएको छ । लामो समयपछि मात्र प्रतिवेदन सार्वजनिक गरिए पनि कतिपय अद्यावधिक गर्नुपर्ने कुराहरू गरिएको छैन । प्रतिवेदनमा पुरानै संरचनाअनुसार 'गाविस' उल्लेख गरिएको छ ।

त्यस्तै सन् २०१२ मा अध्ययन गर्दा तालतलैया संरक्षणका लागि समिति गठन नभएको उल्लेख गरिए पनि स्थानीय तह गठन भइसकेपछि अधिकांश तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि समिति गठन भइसकेका छन् । स्थानीय तहहरूले त्यस्ता क्षेत्रलाई पर्यटकीय दृष्टिले आकर्षक बनाउँदै लगेका छन् ।

यो पनि पढ्नुहोस्

पूर्वको प्रमुख पर्यटकीय क्षेत्र जामुनखाडी (फोटो फिचर)