काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ७६ प्रतिशत कमी

23.37K
shares

श्रमका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७६ प्रतिशतले घटेको छ । गत वर्षको सात महिनामा १ लाख ६५ हजार २६ नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएकोमा चालू आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ३९ हजार ८०३ नेपाली कामका लागि बाहिरिएका हुन् ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको राष्ट्र बैँकको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।

गत आवको साउनदेखि माघसम्ममा १ लाख ५४ हजार ८१७ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आवको सोही अवधिमा जम्मा ५० हजार ४५० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई)मा १२ हजार ७६३ जना कामका लागि पुगेका छन् । यो गत वर्षको तुलनामा ७१.६ प्रतिशत कम हो । गत वर्षको सात महिनामा ४४ हजार ९७८ नेपाली कामका लागि यूएई गएका थिए ।

प्रतिशतका हिसाबले रोजगारीका लागि निकै आकर्षक दक्षिण कोरिया र मलेसिया जानेको संख्या धेरै घटेको छ । गत वर्ष ३ हजार ३९२ नेपाली दक्षिण कोरिया गएकोमा यो वर्षको सात महिनामा जम्मा १३ जना कोरिया पुगेका छन् । यो ९९.६ प्रतिशत कम हो ।

त्यस्तै गत वर्षको सात महिनामा ३० हजार ९२५ नेपाली मलेसिया गएकोमा यो वर्षको सोही अवधिमा २ हजार ७४४ नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन् । यो ९१.१ प्रतिशत कम हो । त्यस्तै गत वर्षको सात महिनाको तुलनामा साउदी असर ६८.८ प्रतिशत, कतार ७९.२, कुवेत ८६.८, बहराइन ६६.१, ओमन ६६ प्रतिशत कम गएका छन् ।

कोभिड–१९ का कारण विश्व ठप्प भएपछि वैदेशिक रोजगारीको यात्रामा विश्राम लागेको हो । चीनको वुहानबाट २०१९ डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोनाभाइरसले नेपालसहित विश्वभरका २१६ देश तथा क्षेत्र ठप्प भए । नेपालको पनि चैतयता विश्वसँग सञ्चारबाहेकका करिब सबै माध्यम विच्छेद भयो । यसले नेपालको वैदेशिक रोजगारी प्रत्यक्ष प्रभावित भएको हो ।

रेमिट्यान्स भने बढ्यो

समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह भने बढेको छ । गत आवको सात महिनाको तुलनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आवमा ५ खर्ब ११ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो ।