सुनको आपूर्ति बढाउन सरकार सकारात्मक
वि.सं.२०७७ फागुन २७ बिहीवार ०२:१३
shares

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक बनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिनभित्रै यस विषयमा निर्णय हुने बताए ।
माग र आपूर्तिबीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका विषयमा व्यवसायीसँग चासो राखेका थिए । त्यस क्रममा सांसद एवं महासंघका सल्लाहकार छविलाल विश्वकर्माले व्यवसायीलाई परेको अफ्ठ्याराका विषयमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिड १९ का कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको बताए ।
अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याए । आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।
हाल दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
यसैबीच, आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीको क्षेत्रबाट समेट्नुपर्ने विषयलाई समेटिएको सुझावसमेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।

























