कर्णाली उत्सवको दोस्रो संस्करण सुरु
वि.सं.२०७७ फागुन २७ बिहीवार ०१:१५
shares

कर्णाली उत्सवको दोस्रो संस्करण सुरु भएको छ । ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ बुधबारदेखि सुरु भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने र चिनाउन ऋति फाउण्डेशनको समन्वयमा उत्सव सुरु भएको हो । विभिन्न संघसंस्थाको समन्व्यमा कर्णालीको विविधता, वेषभूषा, भाषा, मौलिक संस्कृति, विकास, पुर्वाधारको बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । मुख्यमन्त्री शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुुर्खाले के गरेका थिए भन्ने विषयमा नयाँ पुस्ताले जान्न आवश्यक भएको बताए । कर्णलीको भाषा, संस्कृतिको, रीतिरिवाज र इतिहास थाहा नपाएर वर्तमानमा मात्रै रमाए जीवन नै अपूर्ण हुने उनले तर्क गरे ।
उत्सवको पहिलो दिन आज विभिन्न विषयमा बहसको सुरुवात गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्वका बारेमा बोल्दै उपयुक्त नीति निर्माण गर्न सरोकारवालासँग छलहफल र बहस–पैरवीको आवश्यक रहेको भन्दै कर्णाली उत्सव पनि छलफल र बहसको थलो भएको बताए । सार्वजनिक बहस कार्यक्रममा विभिन्न धारणा प्रस्तुत हुने र विकास निर्माणका विकल्पहरु आउनुका साथै त्यसको राज्यले अंगीकार गर्न सक्ने उनले तर्क गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले खुल्ला छलफल र पत्रकारिताका बारेमा बोल्दै कर्णालीको पत्रकारिता आत्मनिर्भरमा हिँडिरहेको बताए । पत्रकारितामा सक्रिय अभ्यास गरिरहेको र दिन प्रतिदिन यहाँको पत्रकारिता परिपक्व बन्दै गइरहेको उनको भनाइ थियो । प्रदेश सरकारले प्रेसका लागि ठोस योजना ल्याउन नसकेको समेत उनले गुनासो गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जगत प्रसाद उपाध्यायले कर्णाली चिनाउने योगीको विद्धत प्रवचन, वीरेन्द्रनगर नगरपालिकामा प्रमुुख देवकुमार सुवेदीले वीरेन्द्रनगरको वैभव, मध्यमाञ्चल विश्वविद्यालय, मानविकी र समाजिकशास्त्र संकायका निमित्त डिन कमलेश डिसीले, विश्वविद्यालय बाहिर प्राज्ञिक बहस लगायतका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा कर्णाली, पिपुल एण्ड प्लेसेस विमोचन र कर्णालीका मौलिक सांस्कृति कार्यक्रम गरिएको थियो ।
शनिबारसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विधामा १४ वटा सेसन राखिएका छन् । बिहीबार कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आम्नै बान्की, कहरी शुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्या शिर्षकमा छलफल हुन्छन् ।

























