सात महिनामै ३ अर्बको सिमेन्ट आयात
वि.सं.२०७७ फागुन १५ शनिवार २१:००
shares

तीन वर्षअघि नै सिमेन्ट उत्पादक संघले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको दाबी गरेको थियो । तर, प्रत्येक वर्ष भने अर्बौं मूल्य बराबरको सिमेन्ट आयात हुन भने रोकिएको छैन ।
विभिन्न प्रकारको सिमेन्टसहित कच्चा पदार्थमा मात्रै चालू आवको पहिलो सात महिनामा करिब तीन अर्ब रुपैयाँको आयात भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार गत वर्षको भन्दा यो वर्ष ६६ करोड २० लाख ३२ हजार रुपैयाँ बढीको सिमेन्ट उत्पादनमा चाहिने कच्चा पदार्थ, क्लिन्टरलगायत आयात भएको छ ।
गत वर्ष सिमेन्ट तथा सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थ ४ अर्ब ४१ करोड ४३ लाख ५६ हजार रुपैयाँको आयात भएको थियो । गत वर्ष पहिलो सात महिनामै २ अर्ब २१ करोड ७४ लाख ८५ हजार रुपैयाँको आयात भएको थियो भने चालू आवको माघसम्म २ अर्ब ८७ करोठ ९५ लाख १७ हजार रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

























