थरुहट-थारुवान मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु
वि.सं.२०७७ फागुन १५ शनिवार २१:१२
shares

थरुहट-थारुवान राष्ट्रिय सम्मेलन शनिबारदेखि कैलालीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले थारु समुदायमा रहेको असन्तुष्टि समेटेर घोषणापत्र सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा सुरु भएको उक्त सम्मेलनका लागि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि सहभागी छन् । सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका विशिष्ट व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने थरुहट थारुवान संघर्ष समितिका कैलाली जिल्ला संयोजक माधव थारुले बताए ।
मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुका अनुसार सम्मेलन उदघाटनका क्रममा थरुहट युवा दस्ताको मार्च पास हुनेछ । उदघाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने प्रवक्ता थारुले जानकारी दिए । टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सीमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

























