गृहपृष्ठ नेप्सेको खर्बपति क्लबमा ८ कम्पनी, टेलिकम २ खर्बनजिक
नेप्सेको खर्बपति क्लबमा ८ कम्पनी, टेलिकम २ खर्बनजिक
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को खर्बपति क्बलमा ८ वटा कम्पनी उक्लिएका छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये ८ वटै कम्पनीको बजार पुँजीकरण (कुल मूल्य) एक खर्ब रुपैयाँ नाघेको हो ।
नेप्सेमा सूचीकृत २८२ कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको १ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । टेलिकमको १५ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यो कम्पनीको बिहीबारको अन्तिम मूल्य १३२९ रुपैयाँ छ ।
दोस्रोमा नबिल बैँक छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको यो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ७८ अर्ब २० करोड ७६ लाखभन्दा धेरै छ । बिहीबार नबिल बैँकको अन्तिम सेयर कारोबार मूल्य १३२२ रुपैयाँ रह्यो ।
कुल बजार पुँजीकरणको तेस्रो सर्वाधिक सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । नेप्सेमा नेपाल लाइफको ७ करोड १९ लाख ९९ हजार ७०४ कित्ता सेयर सूचीकृत छ । बिहीबारको अन्तिम मूल्य प्रतिकित्ता २१९८ रुपैयाँअनुसार कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ५८ अर्ब २५ करोड ५३ लाख रुपैयाँभन्दा बढी छ ।
खर्बपति क्लबको चौथो नम्बरमा नेपाल रिइन्स्योरेन्स कम्पनी छ । यो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ४८ अर्ब ७० करोड रुपैयाँ छ । नेप्सेमा १० करोड कित्ता सेयर सूचीकृत भएको नेपाल रिइन्स्योरेन्सको बिहीबारको अन्तमि बजार मूल्य १४८७ रुपैयाँ प्रतिकित्ता छ ।
बजार पुँजीकरणको हिसाबमा नेप्सेमा सूचीकृत पाँचौ ठूलो कम्पनी नागरिक लगानी कोष हो । नेप्सेमा यो कम्पनीको २ करोड ९९ लाख ९९ हजार ३१० कित्ता सेयर सूचीकृत छ । बिहीबारको अन्तिम मूल्य ४७१० रुपैयाँ प्रतिकित्ताका आधारमा कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ४१ अर्ब २९ करोड नाघेको छ ।
बजार पुँजीकरणको छैटौँ नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैँक छ । यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ८ अर्ब ६० करोड छ । नेप्सेमा यो कम्पनीको २० करोड कित्ता सेयर सूचीकृत छ । बिहीबार यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४३ रुपैयाँ कायम भएको छ ।
खर्बपति क्लबको सातौँ नम्बरमा एनआईसी एसिया बैँक छ । नेप्सेमा ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको यो कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ४ अर्ब ६५ करोडभन्दा धेरै छ । कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ९०५ रुपैयाँ छ ।
खर्बपति क्बलको पुछारमा ग्लोबल आईएमई बैँक छ । ग्लोबल आईएमईको बजार पुँजीकरण १ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ छ । बिहीबार ४६४ रुपैयाँ प्रतिकित्ताका दरले अन्तिम कारोबार भएको यो कम्पनीको २१ करोड ६३ लाख २५ हजार २४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
खर्बपति क्लबमा रहेका ८ कम्पनीको बजार पुँजीकरण १२ खर्ब ८९ अर्ब रुपैयाँ छ । नेप्सेको कुल बजार पुँजीकरणको यो ३६ प्रतिशतभन्दा धेरै हो । बिहीबारको कुल बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोडभन्दा बढी छ ।
साप्ताहिक समीक्षा
साताभरमा सेयर बजार परिसूचक ८२.७३ अंकले घटेको छ । आइतबार २६३६.६८ अंकबाट कारोबार सुरु भएको बजार साताको अन्तिम दिन बिहीबार २५५४.१३ अंकमा झरेको छ ।
सेयर बजारमा राजनीतिक प्रभाव परेको कतिपयको अनुमान छ । तर, सेयर बजार विश्लेषकहरू साताभरमा ३.१३ प्रतिशतको उतारचढावलाई अत्यन्तै सामान्य भन्छन् । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई २६ सय अंकहाराहारीमा बजार भएका बेला ४०‑५० अंक घट्नुलाई सामान्य मान्छन् । 'दैनिक बजार उतारचढाव हुनु एकदमै सामान्य कुरा हो, यसले अल्पकालीन लगानीकर्ता केही प्रभावित हुनसक्छन् तर बजार बुलिस ट्रेन्डमै छ,' उनले भने, 'ब्याजदर र प्राविधिक उन्नतिका कारण बजार उकालो लागिरहेको छ ।'
साताभरमा ३८ अर्ब ६० करोडको सेयर किनबेच भयो । यो कारोबार रकम गत साताको तुलनामा १२.५५ प्रतिशत कम हो । गत साता ४४ अर्ब १४ करोडको सेयर कारोबार भएको थियो ।
यो साता रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट बैँक, स्पर्श लघुवित्त, आईसीएफसी फाइनान्स, वोमी लघुवित्त, आशा लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैँक, ग्लोबल आईएमई बैँक, मेगा बैँक र कृषि विकास बैँकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै अपी पावरको हकप्रद सेयर पनि सूचीकृत भएको छ ।
प्रकाशित समय : २१:१५ बजे



















