global ime bank Long Banner Ad

गृहपृष्ठ वीरेन्द्रनगरका ६१ प्रतिशत घरधुरी प्राकृतिक प्रकोपको जोखिममा 

वीरेन्द्रनगरका ६१ प्रतिशत घरधुरी प्राकृतिक प्रकोपको जोखिममा 

वीरेन्द्रनगरका ६१ प्रतिशत घरधुरी प्राकृतिक प्रकोपको जोखिममा 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका करिब ६१ प्रतिशत घरधुरी विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेका छन् । नगरपालिकाले निर्माण गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेका हुन् । 

नगरमा रहेका जम्मा २९ हजार २ सय १६ घरधुरीमध्ये १७ हजार ९ सय ४२ घरधुरी विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेको पाइएको छ । नगरका सबै वडा केही न केही प्राकृतिक प्रकोपको जोखिममा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । नगरका १६ वटै वडा विभिन्न भौगोलिक विकटता र जोखिममा छन् । 

नगरको वडा नं. १२ को खोरिया, १३ को अधिकांश भूभाग तथा १४ र १५ नं. वडा पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त वडाहरुमा पहिरोको जोखिममा रहेका १ हजार ३ सय ३५ घरधुरीमध्ये ६ सय ६७ घर पूर्ण क्षति हुनसक्ने र ६ सय ६८ घरधुरी आंशिक रुपमा क्षति हुनसक्ने अध्ययनले देखाएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार १ देखि ८ सम्मका सबै र १२ नं. वडा बाढीको उच्च जोखिममा रहेका छन् । डुबानको उच्च जोखिममा भने वडा नं. ९ र १० रहेको पौडेलले बताए । दुवै वडामा बाढी र डुबानबाट पूर्ण क्षति हुनसक्ने ५ सय ९५ घर र आंशिक क्षति हुनसक्ने ६ सय ७० घरधुरी रहेको उनले बताए । आगलागीबाट पूर्ण क्षति हुनसक्नेमा ७५ घरधुरी तथा आंशिक रुपमा क्षति हुनसक्ने १ सय ५० घरधुरी गरी २ सय २५ घरधुरी रहेको उक्त विपद्को अनुमानित अवस्थाको अध्ययनले जनाएको छ । 

नगरको अधिकांश घरधुरी भूकम्पको समेत उच्च जोखिममा रहेको प्रशासकीय अधिकृत पौडेलले बताए । जसमा पूर्ण क्षति हुनसक्ने ५ हजार ८ सय ४३ घरधुरी र आंशिक रुपमा क्षति हुनसक्ने १५ हजार १ सय ९२ घरधुरी रहेको छ । जनसंख्यालाई आधार मान्दा ६२ प्रतिशत मानव स्रोत जोखिममा रहने अनुमान गरिएको अधिकृत पौडेलले बताए । उनका अनुसार भूकम्पबाट ६० हजार ७ सय ६८, आगलागीबाट ६ सय, बाढी तथा डुबानबाट ५ हजार ६०, पहिरोबाट ५ हजार ३ सय ४० जना गरी जम्मा ७१ हजार ७ सय ६८ जना प्रभावित हुने तथ्यांकमा उल्लेख छ । जुन कुल जनसंख्या १ लाख १५ हजार ४ सय ५१ को ६२ प्रतिशत हुन आउँछ । 

अध्ययनले वर्षेनी सडक दुर्घटनाका कारणसमेत १६ जनाको मृत्यु र १५ जना गम्भीर घाइते हुनसक्ने अनुमान गरेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरको आगामी योजना तर्जुमा गर्दा यो तथ्यांक प्रभावकारी हुने उद्देश्यले अध्ययन गरिएको पौडेलले बताए ।

नगरप्रमुख देवकुमार सुवेदीले नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को अधिकारभित्र रहेर नगर विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेको बताए । यसले वार्षिक कार्यक्रम तथा बजेट निर्माणका क्रममा सम्भावित जोखिमका क्षेत्रमा कार्यक्रम ल्याउन र जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनले तर्क गरे । नगर प्रोफाइल २०७५ अनुसार वीरेन्द्रनगर नगरपालिकाको जम्मा जनसंख्या १ लाख १५ हजार ४ सय ५१ रहेको छ ।

प्रकाशित समय : २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु