गृहपृष्ठ डिजिटल लर्निङ डेमा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम गरिने
डिजिटल लर्निङ डेमा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम गरिने
विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्नका लागि सुरु गरिएको डिजिटल लर्निङ दिवस यो वर्ष पनि विश्वव्यापी रूपमा मनाइने भएको छ । शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने सुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने भन्दै यो यो वर्ष पनि मनाउन लागिएको हो ।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९/२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ सुरू गरेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए ।
यस वर्ष पनि २५ फेब्रुअरी २०२१ अर्थात् २०७७ फागुन १३ गतेको दिन ‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित यस वर्षको डिजिटल लर्निङ डे विशेष कार्यक्रमहरू गर्ने तयारी भइरहेको छ । यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।
डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन् । ‘रिइमाजेनिङ डिजिटल एजुकेशन : पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।
कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ । कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरूसहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेका छौं । यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन् ।
पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ । अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन् । सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ । यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको निमा एकेडेमीका सिइयो निश्चलमान प्रधानले बताए ।
प्रकाशित समय : ००:१५ बजे



















