लैङ्गिक हिंसाविरुद्धको अभियानसँगै बाढीपीडित महिलाको पीडा : घरबार गुम्यो, सुरक्षित बसोबासको आशा अझै अधुरै
वि.सं.२०८३ मंसिर १३ आइतवार १३:३३
shares

रसुवा । लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा रसुवाको उत्तरगया गाउँपालिकामा पनि सचेतनामूलक कार्यक्रम गरिएको छ । अभियानले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि चेतना अभिवृद्धि र सामूहिक प्रतिबद्धतामा जोड दिएको छ ।
कार्यक्रममा रसुुवाको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलकराम पोखरेलले हिंसामुक्त समाज निर्माणका लागि चेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । अभियानका क्रममा लगाइएको रिबन हिंसा नगर्ने, हिंसामा सहभागी नहुने र अरूलाई पनि हिंसा गर्न नदिने सामूहिक प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो ।
पोखरेलले हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रममै सीमित नराखी गाउँ, टोल र छिमेकसम्म पु-याउनुपर्नेमा जोड दिए । विभिन्न प्रकृतिका हिंसाका घटना अझै सुनिने गरेको भन्दै यस्ता घटना नियन्त्रण तथा न्यूनीकरणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए ।
उनले भने, ‘लैङ्गिक हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी गाउँ, टोल र छिमेकसम्म पु-याउन आवश्यक छ । हामी आफैँ हिंसा गर्दैनौँ, हिंसामा सहभागी हुँदैनौँ र अरूलाई पनि हिंसा गर्न दिँदैनौँ भन्ने प्रतिबद्धता सबैले गर्नुपर्छ । हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना हो । त्यसैले आफूले सिकेका कुरा अरूलाई पनि सिकाउँदै हिंसामुक्त समाज निर्माणको अभियानमा सबै जुट्नुपर्छ ।’
यस वर्ष भोटेकोशीको बाढीले गाउँपालिकामा परेको प्रभावका कारण अभियानलाई विभिन्न स्थानमा व्यापक रूपमा सञ्चालन गर्न नसकिए पनि विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिताले सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो । उनले सबैलाई हिंसा नगर्ने, हिंसा सहेर नबस्ने र हिंसाविरुद्ध आवाज उठाउने प्रतिबद्धता गर्न आग्रह गरे ।
बाढीले घरबार खोस्यो, अब सुरक्षित बसोबासको चिन्ता
अभियानका क्रममा सार्वजनिक भएको अर्को महत्वपूर्ण पक्ष हो, बाढीपहिरोबाट विस्थापित महिलाको पीडा र असुरक्षाको अनुभूति ।
रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेँसीकी जानुका देवी थापा मगर अहिले वडा नम्बर ५ मा रहेको माझगाउँस्थित विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेकी छन् । बाढीले घर, खेतबारी र सम्पत्तिसमेत बगाएपछि उनीसहित पहिरेबेँसीका धेरै स्थानीय विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका हुन् ।
‘हामी पहिरेबेँसीबाट खोला र बाढीले लखेटेर यहाँ आएर बसेका हौँ । घर, खेती, जमिन सबै लग्यो,’ उनले आफ्नो पीडा सुनाइन् ।
खेतीपाती र पशुपालन नै परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको बताउँदै उनले बाढीले भैंसी, खसीबोका, कुखुरालगायत वस्तुभाउ र घरमा रहेका सम्पत्तिसमेत बगाएको बताइन् । विपद्ले बाँच्ने आधार नै खोसिदिएपछि अहिले उनीहरूलाई भविष्यको चिन्ताले सताएको छ ।
‘हाम्रो टेक्ने ठाउँ नै छैन, समाउने ठाउँ पनि केही छैन । जीविका गर्ने भनेको खेतीपाती र वस्तुभाउ पालेर हो, त्यो सबै बाढीले लग्यो,’ उनले भनिन् ।
हिंसाविरुद्ध सचेतना आवश्यक
होल्डिङ सेन्टरमा बसोबास गरिरहेका महिलाहरूले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् । जानुका देवीका अनुसार आफ्नो समुदायमा अहिले प्रत्यक्ष रूपमा ठूलो हिंसाका घटना नदेखिए पनि बालविवाह, दाइजो प्रथा र महिलामाथि हुने दुव्र्यवहारजस्ता समस्या अन्य समुदायमा अझै सुनिने गरेका छन् ।
दाइजो नपाएको निहुँमा महिलामाथि हिंसा हुने, बालबालिकालाई दबाबमा विवाह गराउने तथा विभिन्न प्रलोभन देखाएर बालबालिकालाई जोखिममा पार्ने घटनाप्रति उनी चिन्तित छिन् ।
‘हाम्रोमा अहिले त्यस्तो धेरै छैन, तर अन्ततिर यस्ता घटना भइरहेका छन् । बालबालिकालाई प्रलोभन देखाएर फकाउने, लैजाने र बेच्ने घटना पनि सुनिन्छन् । त्यसैले सबै ठाउँमा सचेतना फैलाउन आवश्यक छ,’ उनले भनिन् ।
उनका अनुसार होल्डिङ सेन्टरमा बेलाबेलामा महिला तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू आएर जानकारी दिने गरेका छन् । कुनै समस्या भए प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्ने अवस्था रहेको पनि उनले बताइन् ।
तर विपद्का कारण विस्थापित भएर अस्थायी आश्रयस्थलमा बसिरहेका परिवारका लागि सुरक्षा र सचेतनासँगै स्थायी बसोबासको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
सरकारी सहयोगको प्रतीक्षामा विस्थापित परिवार
बाढीबाट विस्थापित भएको लामो समय बितिसक्दा पनि आफूहरूले अपेक्षित सरकारी सहयोग पाउन नसकेको जानुका देवीको गुनासो छ । हालसम्म विभिन्न संघसंस्थाले सहयोग गर्दै आए पनि दीर्घकालीन व्यवस्थापन र सुरक्षित आवासको विषयमा स्पष्ट आश्वासन तथा सहयोग नपाएको उनले बताइन् ।
‘संघसंस्थाहरूले मात्रै हामीलाई हेरिरहेका छन् । सरकारबाट अहिलेसम्म केही पाएका छैनौँ। हाम्रो बाँकी भनेको यो जीवन मात्रै हो,’ उनले पीडा पोखिन् ।
उनका अनुसार विस्थापित परिवारको मुख्य माग सुरक्षित र पक्की ठाउँमा बसोबासको व्यवस्था हो । बाढीले पुरानो थातथलो नै समाप्त पारेपछि फेरि त्यही जोखिममा फर्कनुभन्दा सुरक्षित स्थानमा घर बनाएर बस्न पाउने आशा उनीहरूले राखेका छन् । ‘सरकारले हामीलाई छिटोभन्दा छिटो राम्रो र सुरक्षित ठाउँमा घर बनाएर बस्ने व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन् ।

























