विश्वभर ६० हजार ६३० जना प्रवासी नेपालीहरुमा कोरोनाभाइरस, ३३६ जनाको मृत्यु
वि.सं.२०७७ फागुन ९ आइतवार २१:११
shares

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३६ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात ९८।७ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
खोप अभियानमा सहभागी बनौं
स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोपहरु प्रयोगमा ल्याइएकोले ति प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न ४ नयाँ भेरियन्ट देखा परेको बताउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।
बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरियन्ट पूरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।
विभिन्न दीर्घ रोगको औषधी सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समेत समितिले सुझाएको गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरीय समिति संयोजक चिरन शर्माले बताए ।

























