गृहपृष्ठ गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ
गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ

गुजरात — भारतको गुजरातमा विजय रूपाणीले मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि मंगलबार शपथ लिएका छन् । उनीसँगै उपमुख्यमन्त्रीमा नितिन पटेल र १८ मन्त्री पनि नियुक्त भएका छन् । उनलाई गुजरातका गर्भनर ओपी कोल्हीले गान्धीनगरमा आयोजित एक विशेष समारोहमा शपथ खुवाएका हुन् ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह र भाजपाको सरकार रहेका १८ राज्यका मुख्यमन्त्रीसमेत उपस्थित थिए । पंचदेभ महादेव मन्दिरको दर्शन गरेर शपथग्रहण समारोहमा पुगेका मुख्यमन्त्री रुपाणीले ‘भाजपा सरकारको मुख्य मुद्दा विकास हुने’बताए । यसअघि गुजरात राज्यमा गत साता भएको निर्वाचनमा भाजपा केही कमजोर देखिएपछि उनलाई मुख्यमन्त्री बनाउन नहुने भन्दै आलोचना भएको थियो । तर भाजपा अध्यक्ष अमित शाहका विश्वासपात्र भएकाले उनलाई पुन: उक्त जिम्मेवारी दिइएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उपमुख्यमन्त्री नितिन पटेलले भने नवनियुक्त मुख्यमन्त्री रूपाणीसग शपथ लिएका हुन् । दोस्रो कार्यकालका लागि शपथ लिएका रुपाणीले उपमुख्यमन्त्रीसहित १८ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्मा उपमुख्यमन्त्री नितिनसहित पटेल समुदायको उल्लेख्य उपस्थिति रहेको छ । नवनियुक्त मन्त्रीहरुमा आरसी फलदू, भूपेन्द्रसिंह चुडासमा, कौशिक जमनादास पटेल, सौरभ पटेल, गणपत वसावा, जयेश रादडिया, दिलीप ठाकोर, ईश्वरभाइ परमार, प्रजीपसिंह जडेजा, परवत भाइ पटेल, पुरुषोत्तमभाई सोलंकी, बचुभाइ खाबड, जयद्रसिंह परमार, इश्वर पटेल, बासणभइ गोपाल आहिर, समनलाल पाटकर र किशोर कानाणी रहेका छन् ।
नयाँ मन्त्रिपरिषद्मा पटेल समुदाय र पिछडिएका वर्गबाट छ/छ जना नियुक्त भएका हुन् । गत डिसेम्बर ७ र १४ मा भएको निर्वाचनमा भाजपाले ९९ सिटसहित सामान्य बहुमत प्राप्त गरेको थियो । सन् २०१२ मा भने भाजपाले १ सय १५ सीटमा विजयी भएको थियो । निर्वाचनमा कंग्रेसले भने १९९० यताकै बढी अर्थात् ७७ सिट प्राप्त गरेको हो । गुजरातमा विधानसभा निर्वाचनमा १ सय ८२ सिट कायम छन् ।
भारतीय प्रधानमन्त्री मोदी गुजरातमा यसअघि ३ पटकसम्म मुख्यमन्त्री भएका थिए । तर, सन् २०१६ मा मोदीले लागू गरेको नोटबन्दी नीति र नयाँ करसम्बन्धी कानुनका कारण गुजरातमा भाजपाको लोकप्रियता घटेको थियो ।
प्रकाशित समय : २१:२० बजे